२० कार्तिक २०८३, शुक्रबार

निर्वाचनका लागि सहमतिको मिलनबिन्दु खोजौंः खिलराज रेग्मी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १९ चैत । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले नेपालको संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य भएकाले यसलाई सफल पार्न सबै राजनीतिक दल एकजूट भएर लाग्नु पर्ने बताउनु भएको छ ।

आज सूर्यविनायक नगरपालिका १ सिरुटार स्थित सिरुटार ईङ्लिस सेकेण्डरी स्कूलको १७ औ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन सफल पार्न सबै दलले निर्वाचनमा भाग लिनु पर्ने बताउनु भएको हो ।

आन्दोलनरत मधेशी मोर्चातर्फ संकेत गर्दै उहाँले प्रदेश र संसदको चुनावलाई स्थानीय चुनावसंग जोडेर हेर्न नहुनेमा औल्याउँदै उहाँले भन्नुभयो– ‘आफ्नो ठाउँ आफैले बनाउने, स्थानीय तहको खम्बाको रुपमा रहेको निर्वाचन हो, यो निर्वाचनले दूरदराजका जनतालाई समस्या बोकेर सिंहदरबार धाउनु पर्ने समस्याबाट मुक्त गर्छ, आफ्नो समस्या आफ्नै गाउँमा हल गर्न सहज हुन्छ, त्यसैले यो चुनावलाई प्रदेश र संसदको चुनावसंग जोडेर हेर्न हुदैन ।’

सरकारमा आन्दोलनरत पक्षसंग छलफलमा लागिरहेको बेलामा सरकार र दलहरुले साझा मिलनबिन्दू खोज्न पर्नेमा जोड दिदै उहाँले भन्नुभयो– ‘आन्दोलनरत पक्षसंग छलफल गरि मतमतान्तरको मिलनबिन्दू खोज्न दलहरु चुक्न हुदैन, कुनै न कुनै मिलनबिन्दू खोज्नुपर्छ ।’

रेग्मीले आफ्नो कुरा मात्रै भन्ने तर अरुको कुरा सुन्ने र बुझ्ने प्रयास नगर्ने प्रबृत्ति त्याग्नु पर्ने औल्याउँदै उहाँले व्यक्तिगत स्वार्थलाई त्यागेर राष्ट्र र जनतालाई सर्वोपरी ठानेर अगाडि बढे सहमतिको बिन्दू भेटिने बताउनुभयो ।

शिक्षा ऐनलाई समयानुकुल परिवर्तन गर्दै लैजानु पर्नेमा जोड दिदै उहाँले देशपंति वफादार, अनुशासित, इमान्दार जनशक्ति बनाउने शिक्षा आवश्यक रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा मन्त्रीपरिषद्का पूर्वअध्यक्ष रेग्मीलाई अभिनन्दन गरिएको थियो । त्यसअवसरमा डा. प्रकाश विष्टलाई सम्मान गरिएको थियो । विद्यालयका उत्कृष्ट विद्यार्थी, शिक्षकहरुलाई पुरस्कार एवं प्रमाणपत्र प्रदान गरिएको कार्यक्रममा विद्यालयका अध्यक्ष डा. प्रकाश कायस्थ, संस्थापक निर्देशक ईश्वर बहादुर श्रेष्ठ, संस्थापक प्राचार्य रमन कायस्थ लगायतले विद्यार्थीलाई देशका लागि आवश्यक असल र दक्ष जनशक्ति उत्पादनमा विद्यालय तल्लिन रहेको बताउनुभयो ।