काठमाडौं, १९ चैत । काठमाडौं उपत्यका र राजनीतिको धुलोमैलो हटाउने सवालमा सरकारले नागरिकलाई धेरै उल्लु बनाएको भन्दै विवेकशील नेपाली दलले व्यंग्यात्मक म्याराथनको आयोजना गरेको छ । आज बिहान ८ बजेदेखि ‘मास्काथोन’ (मास्क लगाएर दौड्ने म्याराथन) कार्यक्रम सम्पन्न गरेको हो ।
डेढ घण्टासम्म भएको कार्यक्रम नारायण गोपाल चोकदेखि सुरु भई धुम्बाराही, चावहिल, गौशाला हुँदै पिङ्गलास्थानमा पुगी सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीय, दलका सदस्य तथा शुभेच्छुकको सहभागिता थियो । केही सहभागीहरुले दिवङ्गत भइसकेका राजा–रानीको भेषमा मास्क लगाई व्यंगात्मक तरिकाले सहभागिता जनाएका थिए ।
पिङ्गलास्थानमा आयोजित कोणसभामा दलले सहभागीलाई प्रधानमन्त्री, स्वास्थ्य मन्त्री, यातायात मन्त्री तथा स्थानीय विकास मन्त्रीहरुको फोन नम्बर प्रदान गरी एस.एम.एस. गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्दै कार्यक्रमका संयोजक विकल्प कश्यपले राजनीति तथा वातावरणलाई सफा गर्न बल पुगोस भनेर मास्क लगाएर म्याराथनको आयोजना गरिएको बताए ।
कोणसभामा केही समय साँगीतिक कार्यक्रम पनि आयोजना गरिएको थियो । सो अवसरमा कार्यक्रम सञ्चालन गरिएको चौरको समेत सरसफाई गरिएको थियो ।













प्रतिक्रिया