– अमरराज पुन
रुकुम, १९ चैत । तकसेरा संघर्ष समिति रुकुमले पुनः पुथा उत्तरगंगा गाउँ पालिकाको केन्द्र तकसेरामा हुनुपर्ने माग गर्दै आज एक प्रेस विज्ञप्ती जारी गरेको छ ।
गाउँपालिका केन्द्रका लागि तकसेरा बासीले यसअघि पटक–पटक उठाएको मागलाई राज्य पक्षले नै बेवास्ता गरेकाले अब आफुहरु विभिन्न चरणका आन्दोलनमा जाने समेत घोषणा उनीहरुले गरेका छन् ।
‘आन्दोलनको भावना बिपरित कुनै काम कारबाही अगाडि बढाईएमा कडा प्रतिरोध गरिनेछ, र स्थानीय, प्रादेशिक तथा केन्द्रिय चुनाव बहिस्कार गरिनेछ,’ विज्ञप्तीमा भनिएको छ । राज्य पुनर्संरचना आयोगले प्रस्तुत गरेको कार्य शर्त र कार्यबिधिको आधारमा तकसेराबासीले गएको कार्तिक १८ गते देखी यता गाउँ पालिका केन्द्रको माग गर्दै सम्बन्धित निकायहरुमा मागपत्र समेत पेश गर्दै आइरहेका छन् ।
आफ्ना मागहरु सम्बन्धित पक्षले आजसम्म पुरा नगरेकै कारण अब त्यस्ता कुनैपनि आश्वासनमा तकसेराबासी विश्वस्त नहुने विज्ञप्तीमा उल्लेख छ । गाउँपालिकाको केन्द्र तकसेरामा हुनुपर्ने आम तकसेराबासीले उठाएको मागलाई अहिलेको सरकार र स्थानीय राज्य पुर्नसंरचना आयोगले भने बेवास्ता गरेको उनीहरुले गुनासो गरेका छन् ।
तर सरकारले घोषणा गरेको स्थानीय तहको चुनावको मिति नजिकिंदै गर्दा तकसेराबासीले भने सहजै चुनावमा सहभागी हुने वातावरण सिर्जना गरिदिनका लागि तत्काल आफ्ना मागहरु पुरा गर्न आग्रह समेत गरेका छन् । यदि माग पुरा नभएको अवस्थामा बैशाख ३१ गते हुन गईरहेको स्थानीय चुनाव उनीहरुले बहिष्कार गर्ने योजना तय गरेका छन् ।
पुथा उत्तरगंगा गाउँपालिकाको केन्द्र साविकको कोल गाविसमा तोकिएपछि उक्त केन्द्र तकसेराबासीका लागि स्विकार्य नभएको र त्यसको विकल्पमा कोल बाहेक अन्य कुनैपनि ठाउँलाई गाउँपालिकाको केन्द्र तोक्नुपर्ने माग तकसेराबासीले अघि सारेका छन् ।
लामो समय देखी विभिन्न आन्दोलन र धर्नामा बस्दै आफ्ना मागहरु प्रती आवाज उठाईरहेका तकसेराबासीले अहिले सम्म झण्डै एक करोड भन्दा बढि खर्च भईसकेको जानकारी समेत दिएका छन् । उक्त रकम तकसेराबासी र बिदेशमा रहेका आफन्तहरुले सहयोग गरेको बतार्ईएको छ ।
यसैबिच तकसेरा संघर्ष समिति रुकुमका संयोजक समेत रहेका जुद्ध बुढा मगरले तकसेरा बासीले उठाएको मुद्धाको सवालमा कुनैपनि सुनुवाई नभएकाले आज छुट्टै एक अर्को प्रेस विज्ञप्ती मार्फत अबदेखी आफु कुनैपनि पार्टीमा नरहेको घोषणा गरेका छन् ।













प्रतिक्रिया