३ कार्तिक २०८३, मंगलबार

कृषिमा आत्मनिर्भर हुने बजेट आउँछ : मन्त्री चौधरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १९ चैत । कृषिमन्त्री गौरीशङ्कर चौधरीले सरकारले आगामी बजेटमा कृषिमा आत्मनिर्भर बनाउने गरी बजेट ल्याउने तयारी गरेको बताउनुभएको छ ।

आजबाट भक्तपुरको सूर्यविनायकमा जिल्ला कृषि सहकारी सङ्घले आयोजना गरेको दुई दिने वृहत कृषि मेलाको उद्घाटन गर्दै उहाँले कृषिमा नेपाललाई आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताउनुभएको हो ।

कृषि सहकारीको माध्यम एवम् निजी कृषि संस्थाबाट पनि कृषिको विकासका लागि सरकारले साझेदारी रुपमा काम गर्न खोजेको बताउँदै उहाँले कृषिलाईमाथि उठाउन सरकारले थप कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभयो ।

कृषिमा आत्मनिर्भर बन्नसक्ने क्षेत्र भनेको कृषि, ऊर्जा, पर्यटन क्षेत्र नै भएको बताउँदै उहाँले कृषिको विकास, ऊर्जाको विकास एवम् प्रवद्र्धन तथा पर्यटन क्षेत्रको विकास गर्न सके नेपाल पूर्णरुपमा आत्मनिर्भर बन्नसक्ने बताउनुभयो ।

त्यस अवसरमा जिल्ला कषि सहकारी सङ्घका अध्यक्ष उत्तम सापकोटाले भक्तपुरलाई नमुना कृषि जिल्लाको रुपमा विकास गर्न मेला आयोजना गरिएको बताउँदै मेलामा ३५ हजार भन्दा बढी कृषकले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय भक्तपुरकी प्रमुख पूर्णा ढुङ्गाना, डिभिजन सहकारी कार्यालय भक्तपुरका प्रमुख प्रेम श्रेष्ठ, राष्ट्रिय सहकारी बंैक लि.का सञ्चालक सरिता भट्टराई, सहकारी विद् कैलाशभक्त प्रधानाङ्ग, उद्योग वाणिज्य सङ्घ भक्तपुरका अध्यक्ष केपी अवाललगायतले मेलाले कृषकलाई कृषि क्षेत्रमा लाग्न अभिप्ररित गर्ने बताउँदै कृषकले उपलब्धिहरु पनि हासिल गर्न सक्नेमा जोड दिनुभयो ।

दुई दिने मेलामा कृषक, व्यावासायिक कृषि फार्म, अगुवा किसान, कृषि कम्पनीबाट उत्पादित कृषि उपज, कषि प्रविधि, कृषि औजार, कृषि ऋण, कृषि बिमा, मल, कृषि सम्बन्धी परामर्श, च्याउ तथा आलुका परिकारसहितको ४५ वटा भन्दा बढी स्टल रहेको मेलाका संयोजक सनिश लागेजुले बताउनुभयो । रासस