काठमाडौं, १९ चैत । स्थानीय तह निर्वाचनका लागि चीनबाट ल्याउन लागिएको १० हजार थान मतपेटिका रसुवागढी–केरुङ नाकामा आइपुगेको छ ।
३१ वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि ३० हजार थान मतपेटिका चीनबाट ल्याउन लागिएको छ । राजधानी दैनिकले समाचार छापेको छ ।
त्यसमध्ये पहिलो चरणमा बिहीबार नै १० हजार थान मतपेटिका रसुवाको केरुङ नाका आइपुगेको निर्वाचन आयोगले जनाएको छ ।
स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने करिब ८० हजार थानमध्ये आयोगले चीनबाट ३० हजार थान मतपेटिका ल्याउन लागेको छ ।
निर्वाचन आयोगसँग अघिल्लो संविधानसभा निर्वाचनमा जापानबाट ल्याइएका मतपेतिकामध्ये करिब ६० हजारको हाराहारीमा प्रयोग गर्न मिल्ने मतपेटिका छन् ।
अपुग रहेको मतपेटिका चीनबाट ल्याउन लागेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
चीनबाट ल्याउन लागिएका ३० हजार थान मतपेटिकामध्ये १० हजार थानको भन्सार व्यस्थापनको काम अघि बढिरहेको शर्माले बताए ।
‘हामीलाई केरुङ नाकामा १० हजार थान मतपेटिका आइपुगेको भन्ने सूचना आएको छ, त्यसको जाँचपास र छुटका लागि हामीले अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेका छौं,’ प्रवक्ता शर्माले भने ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि ३० हजार थान मतपेटिका ल्याउन टेन्डर आह्वान गरेको थियो ।एनआईटी नामक कम्पनीले १० करोड ७९ लाख रुपैयाँमा टेन्डर सकारेको थियो । बाँकी २० हजार थान मतपेटिका पनि चीनबाट ल्याउने क्रममा रहेको र आकार ठूलो भएका कारण एकै पटक आउन नसकेको हुन सक्ने प्रवक्ता शर्माले बताए ।
संविधानसभा निर्वाचनमा भने जापान सरकारको पूर्ण सहयोगमा मतपेटिका ल्याइएको थियो । तर, यस वर्ष तोकिएको समयभित्र जापानले मतपेटिका दिन नसक्ने बताएपछि टेन्डर आह्वान गरेर खरिद गरिएको हो ।
आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले मतपेटिकामा प्रयोग हुने सुरक्षा पिन पनि नेपाल आउने तयारीमा रहेको बताए । एउटा मत पेटिकामा ६ ओटा सुरक्षा पिन मतदान सुरु हुँदा लगाइने र मतदान सकिएपछि एउटा पिनले बन्द गरिने अर्यालले जानकारी दिए । प्रत्येक मतपेटिकामा प्रयोग हुने सुरक्षा पिनमा फरकफरक नम्बरका पिन कोड नम्बरसमेत हुनेछ ।
नङमा मार्कर
निर्वाचन प्रक्रियामा सहभागी भएका मतदाताको नङमा मार्करले चिनो लगाइने भएको छ । यसअघि मतदानमा सामेल भइसकेपछि नङमा मसी लगाउने गरिन्थ्यो ।
भारतले समयमा उपलब्ध गराउन नसकेपछि निर्वाचन आयोगले मसीको प्रयोग नगरी मार्करबाट चिनो लगाउन लागेको हो । ‘निर्वाचन आयोगले मसी भारतबाट ल्याउने तयारी गरेको थियो, तर भारतले तत्काल उपलब्ध गराउन नसकेपछि आन्तरिक कार्यतालिका प्रभावित हुन नदिन आयोगले पर्मानेन्ट मार्कर खरिद गर्ने निर्णय गरेको छ,’ प्रवक्ता शर्माले भने ।












प्रतिक्रिया