२० कार्तिक २०८३, शुक्रबार

‘तस्वीरमा गोरखा भूकम्प २०७२’ एटलस र ‘टुगेदर वी स्टान्ड’ डकुमेन्ट्री सार्वजनिक

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ चैत । भूकम्पपछिको पुनर्निर्माणमा नेपालको ऐतिहासिक र मौलिक पहिचान जोगाउन चुनौती देखिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलले बताउनुभएको छ ।

भिएसओ नेपालले शुक्रबार राजधानीमा आयोजना गरेको एटलस तथा डकुमेन्ट्री सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै पोखरेलले भूकम्प अगाडीको नेपाली पहिचान र शैलीलाई पुनर्निर्माणले पच्छ्याउन नसके त्यो मुलुकका लागि अर्को विपद् हुने छ भन्नुभयो ।

“भौतिक निर्माणले मात्र पुनर्निर्माण हुँदैन, सँगसँगै आर्थिक र सामाजिक पुनर्निर्माण पनि जरुरी छ ।“ पोखरेलले भन्नुभयो – “पुनर्निर्माणमा महिला लगायत पछाडि परेका समुदायको सक्रिय सहभागिता महत्वपूर्ण छ । उनीहरूको क्षमता विकास र देशको विकास सँगसँगै हुन्छ ।“

कार्यक्रममा भिएओ नेपालले राष्ट्रिय विपद् पुनर्लाभ संयोजन सचिवालय अन्तर्गत प्रकाशित गरेको ‘तस्वीरमा गोरखा भुकम्प २०७२’ एटलस र ‘टुगेदर वी स्टान्ड’ डकुमेन्ट्री सार्वजनिक गरियो । एटलसमा नेपालमा भुकम्प जाने वैज्ञानिक कारण र पृष्ठभूमि देखि गोर्खा भूकम्पले पारेका असरहरू र त्यसबाट जोगिन भएका प्रयासहरूका तस्विर, चित्र तथा आलेख समेटिएको छ । भिएसओ र सेन्टर फर डिजास्टर्ड एन्ड क्लाइमेट चेन्ज स्टडिजको सहकार्यमा तयार पारिएको एटलस बिक्रीबाट उठेको रकम भूकम्प प्रभावित क्षेत्रका बालबालिकाको शिक्षामा खर्च गरिने भएको छ । एटलस नेपाली र अङ्ग्रेजी दुबै भाषामा प्रकाशित छ ।

कार्यक्रममा सार्वजनिक गरिएको डकुमेन्ट्री ‘टुगेदर वी स्टान्ड’ले भूकम्पपछि आ-आफ्नो हिसाबले काम गरिराखेका सरकारी र गैरसरकारी संस्थाहरूबीच कसरी समन्वय भयो र राहत तथा पुनर्निर्माणमा एकरूपता ल्याउन के गरियो भन्ने विषय समेटिएको छ । डकुमेन्ट्रीको निर्माण मिडिया चौतारीले गरेको हो ।

प्राधिकरणका सह प्रवक्ता भिष्मकुमार भुषालले अब अरूको आसमा बसेर मात्र पुनर्निर्माणले गति लिन नसक्ने भन्दै स्वयंसेवी अभियानलाई अघि बढाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा गृह मन्त्रालयका उप-सचिव शंकरहरी आचार्यले विपदलाई सामना गर्न पुराना अनुभवको तथ्य र तथ्याङ्क महत्वपूर्ण हुने भन्दै एटलस र डकुमेन्ट्री निर्माणको प्रसंसा गर्नु भयो ।

विपद् भोगेका अरू मुलुकबाट के सिक्न सकिन्छ, समस्या र चुनौतीको सामना कसरी गर्ने भन्नेमा केन्द्रित रहि परियोजनाले सरकारी र गैरसरकारी संघसंस्थासँग काम गरेको सचिवालय संयोजक रोहित यादवले जानकारी दिनुभयो ।

भिएसओका कार्यक्रम प्रमुख गीता प्रधानले सचिवालय स्थापनाको सान्दर्भिकताबारे प्रकाश पार्दै भूकम्प प्रभावित १४ जिल्लामा यसले उल्लेखनीय नतिजा दिन सफल भएको जानकारी दिनुभयो ।

भिएसओ नेपालका अन्तरिम देशीय निर्देशक जय शंकर लालले सचिवालयका लागि योगदान गर्ने सरकारी, दातृ निकाय सहित सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।