
काठमाडौँ, १८ चैत । मधेशी मोर्चासम्बद्ध दलका नेताहरु शुक्रबार आकस्मिक रुपमा काठमाडौँस्थित भारतीय दूतावास पुगेका छन् ।
भारतीय राजदूत मञ्जिव सिंह पुरीले बोलाएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध चार पार्टीका अध्यक्षहरु साँझ साँढे ५ बजे भारतीय दूतावास पुगेका हुन् ।
अन्य पार्टीका नेताहरुलाई कार्यालय र घरमा पुगेर भेटे पनि मधेशी मोर्चाका नेताहरुलाई भने भारतीय राजदूतले दूताबासमै बोलाएका हुन् । भेटमा चार जना नेताहरुलाई मात्र बोलाइएका कारण मधेशी मोर्चाभित्रै शंका र आश्चर्यको रुपमा हेरिएको छ ।
‘दूतावासमै बोलाउने हो भने पनि किन चार जनालाई मात्रै बोलाइयो ? यसभित्र पक्कै केही स्वार्थ लुकेको हुनुपर्छ,’ मोर्चाका एक नेताले भने, ‘दूतावासले मधेशी मोर्चाभित्र समेत खेल्ने कोसिस गरेको छ ।’
भारतीय दूतावास पुग्नेमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव छन् ।
संयोग कस्तो परेको छ भने प्रधानमन्त्री र मधेशी मोर्चाका नेताहरुबीच पनि शुक्रबारै छलफल थियो । गत शनिबारमात्रै नेपाल भ्रमणमा आएका भारतीय राजदूत पुरीका सुरुमै बिबादास्पद गतिविधिहरु देखिन थालेका छन् ।












प्रतिक्रिया