काठमाडौं, १८ चैत । भारतका स्थल सेनाध्यक्ष जनरल विपिन रावत चारदिने सम्पन्न गरी शुक्रबार स्वदेश फर्किएका छन् ।
प्रधान सेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा काठमाडौं आएका रावतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले विदाई गरे ।
चैत १६ गते राष्ट्रपति भवन शितल निवासमा आयोजना गरिएको एक विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट भारतीय स्थल सेनाध्यक्ष रावललाई नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट शुसोभित गरिएको थियो ।
भ्रमणकै क्रममा भारतीय स्थल सेनाध्यक्ष रावतले प्रधानमन्त्री, रक्षामन्त्री तथा प्रधानसेनापति राजेन्द्र क्षत्रीसंग छुटाछटै शिष्टाचार भेटघाट गरेका थिए ।
नेपाल तथा भारतबीचको अनुपम सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक सम्बन्धको साथै मित्रवत सैनिक सम्बन्धको निरन्तरता स्वरुप विगत दशकौंदेखि नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय सेनाका प्रमुखलाई नेपाली सेनाको मानार्थ महारथीकोे दर्जा प्रदान गर्ने परम्परा रहेको छ ।
उक्त मानार्थ महारथी दर्जा ग्रहण गर्न भारतीय स्थल सेनाध्यक्ष जनरल विपिन रावत नेपाल आएका हुन् । यस भ्रमणले दुई देश बीच रहंदै आएको सौहाद्र्रपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवं विस्तार गर्न थप मद्दत पुर्याएको विश्वास नेपाली सेनाले लिएको छ ।












प्रतिक्रिया