
सिरहा, १७ चैत । लहाननजिकैको मोहनपुर टोलकी रामपरीदेवीको उमेर ३८ वर्ष पनि पुगेको छैन। तर, चाउरिएको मलिन अनुहार हेर्दा उनी वृद्धजस्तै देखिन्छिन्।
बिहे गरेको नौ वर्ष नपुग्दै पति गुमाएकी उनलाई एक्लै चार सन्तान हुर्काउने भार पर्यो। उनले हुर्किसकेकी छोरी बिभाको जसोतसो गत फागुन २२ गते विवाह गरिदिइन्। अहिले बिहेको ऋणले थलिएकी छन्। अरू दुई छोरी र एक छोरालाई पढाउने खर्च जुटाउने पिरलो पनि छँदैछ।
सहिद परिवारलाई सरकारले दिएको १० लाख रुपैयाँबाट सहिदको प्रतिमा बनाउने भन्दै मधेसवादी नेताले एक लाख सापट लिएका थिए तर अहिलेसम्म फर्काएका छैनन्।
रामपरीको जीवनमा त्यति बेला बज्रपात भयो जब पति बेचन यादवको पहिलो मधेस आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागी ज्यान गयो। लहान बजारमा घरको सामान खरिद गर्न आएका बेचनको २०६३ माघ ७ गते सुरक्षाकर्मीको गोलीले ज्यान गएको थियो। त्यस बेला छोरा आनन्द ६ महिनाका मात्रै थिए। छोरी शोभा सात वर्ष, बिभा चार वर्ष र मनतोरिया दुई वर्षका थिए।
घरका मियो बेचनको निधनले रामपरी धेरै दिनसम्म ओछ्यान परिन् तर लालाबाला हुर्काउने जिम्मेबारी सम्झेर मन थामिन्।
सरकारले मधेस आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा गरी १० लाख क्षतिपूर्ति उपलब्ध गरायो। तर, रामपरीको हातमा नौ लाख मात्र पर्यो। एक लाख रुपैयाँ मधेसी मोर्चाका स्थानीय नेताले सापटी भनेर लिए। ‘यो रकम पछि फिर्ता गर्ने सर्तमा सहिदको प्रतिमा स्थापित गर्न भनेर उनले लिएका थिए। तर, अहिलेसम्म सहिद परिवारले फिर्ता पाएको छैन।
नौ लाख लिन जिल्ला प्रशासन र गाउँ विकास समितिमा कागजी प्रमाण जुटाउन दौडधुप गर्दा ५० हजार खर्च भयो। बाँकी आठ लाख ५० हजारबाट गाउँमै खेत जोडेकी रामपरी भन्छिन्, ‘१० कट्ठा जमिनको उत्पादनले गुजारा चलाउन धौधौ छ।’
फागनु २२ गत्ते रामपरीले छोरी बिभाको बिहे गर्दा कुनै मधेसी नेता उपस्थित भइदिएनन्। बिहेको जोरजाममा पनि कसैले सहयोग गरेनन्। ‘सहिद परिवारको दुःखमा मलम लगाउने त परको कुरा, सोधीखोजी गर्न समेत कोही आउँदैनन्’, उनले भनिन्।
सहिदको सम्मानमा प्रत्येक वर्ष माघ ५ गते लहानमा मनाइने बलिदानी दिवसमा समेत पछिल्लो दुई वर्षयता आफूलाई सोधखोज गर्न छाडिएको रामपरीको गुनासो छ। ‘हामी आफैं त्यो दिन सहिद पार्कमा पुगेर आँसुको भारी बिसाएर घर फर्किन्छौं’, आँखाभरि आँसु बनाउँदै उनले भनिन्, ‘आँसु पुछिदिनेसमेत कोही हुन्नन्।’
त्यति बेला सहिदका सन्तानलाई पठनपाठन निःशुल्क हुन्छ भनिएको थियो। तर, मासिक ४ हजार ५ सय रुपैयाँ खर्चेर छोरा पढाउनुपरेको उनी बताउँछिन्। उनका छोरा आनन्द यादव लहानस्थित रेन्बो बोर्डिङ स्कुलमा होस्टेल बसेर पढ्दै छन्। दुई छोरीलाई सामुदायिक विद्यालयमा पढाउँदैछिन्। निःशुल्क पठनपाठनको व्यवस्था भइदिए छोरीहरूलाई पनि गुणस्तरीय शिक्षा पढाउने उनको धोको छ।
पाँच वर्ष भयो उनी कार्यालय सहयोगीको रुपमा लहानस्थित भूमिगत सिँचाइ डिभिजन कार्यालयमा काम गर्न थालेको। ‘करारको जागिर, कति बेला हट्नुपर्ने थाहा छैन’, उनी भन्छिन्, ‘यो जागिर स्थायी भइदिए राहत पुग्थ्यो।’ उनले थपिन्, ‘पतिको बलिदानीको सिँढी चढेर धेरै अनुहार चर्चित नेता भए, कति मन्त्री भए तर हाम्रो दुःखमा मलम लगाउने कोही भइदिएनन्।’
पहिलो मधेस आन्दोलनको उद्गम स्थल लहानमा त्यस बेला मृत्युवरण गरेका बेचनको परिवार मात्र होइन, रमेश महतो, अनिस राई, प्रमोद सदाय र विजय सहनी परिवारको पनि उस्तै बेहाल छ। नागरिक दैनिकमा खबर छ ।












प्रतिक्रिया