काठमाडौं । उच्च माध्यामिक विद्यालयहरूले कक्षा ११ र १२ को भर्ना फारम र परीक्षा दस्तुरमा मनोमानी शुल्क लिइरहेको गुनासो आएपछि उच्च माध्यामिक शिक्षा परिषद्ले ती शीर्षकका निश्चित शुल्क निर्धारण गरेको छ।
उच्च माध्यामिक शिक्षा परिषद्द्वारा गठित अनुगमन समितिले उमाविहरूमा भर्ना फारामको अधिकतम् रू। २५ र परीक्षा दस्तुरको अधिकतम् रु एक सयभन्दा बढी लिन नपाउने निर्णय गरेको समितिका सदस्य–सचिव डम्बरकुमार बतासले जानकारी दिए।
उनले तोकिएको शुल्क सीमालाई पालना नगर्ने उमाविलाई कारबाही गरिने बताए। हाल कतिपय उमाविले भर्ना फाराममा एक हजारसम्म उठाउने गरेका छन्।
समितिका सदस्य अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले उच्च माध्यामिक विद्यालयहरुले लिँदै आएको मनोमानी शुल्कलाई नियन्त्रण गर्न आवश्यक भएकाले सो निर्णय भएको बताए।
समितिको आजको बैठकमा परिषद्सँग स्वीकृत नदिई नाम परिवर्तन गर्ने क्यापिटल उमावि (सिसिआरसी), कोटेश्वरले रू ५० हजार जरिवाना तिरेको जानकारी गराइएको छ।
बैठकमा ललितपुरका क्यास्पियन भ्याली कलेज र युनाइटेड कलेजबीच परीक्षा सञ्चालनका क्रममा देखिएको आपसी विवाद मिलाउन दुवै पक्षलाई अर्को बैठकमा आमन्त्रण गर्ने निर्णय भएको छ। नागरिक दैनिकबाट













प्रतिक्रिया