
काठमाडौं, १७ चैत । स्थानीय तह निर्वाचनमा भाग लिन दल दर्ता गराएर चुनावी प्रक्रियामा सामेल भइसकेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलहरु चुनावकै विरोधमा जिल्ला निर्वाचन कार्यालय घेराउ गर्न थालेका छन् ।
मोर्चाले मंगलबार चुनावको विरोध गर्दै २ नम्बर प्रदेशका जिल्ला निर्वाचन कार्यालय घेराउ गर्यो । नागरिक दैनिकले समाचार छापेको छ ।
जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गराइसकेका दलहरुले चुनावको विरोधमा कार्यालय घेराउ गरेर जनताको आँखामा छारो हालेको टिप्पणी मतदाताले गर्न थालेका छन् ।
निर्वाचनसम्बन्धी बैठकमा भाग लिने, दल दर्ता गराउने, तर निर्वाचनको विरोध गर्ने मोर्चाको कार्यशैली मधेसी जनताले नै मन पराएका छैनन् ।
मोर्चाको कार्यशैली हेर्दा ढिलोचाँडो चुनावमा सहभागी हुने विश्वास मतदाताको छ ।
२ नम्बर प्रदेशअन्तर्गतका बाराबाहेक सबै जिल्लामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध मधेसकेन्द्रित दल निर्वाचन कार्यालयमा दर्ता भएका छन् ।
स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको माघ १७ गते दल दर्ता गराउने समयभित्रै २ नम्बर प्रदेशको ७ जिल्लामा मोर्चासम्बद्ध मधेस केन्द्रित दलले सम्बन्धित निर्वाचन कार्यालयमा दल दर्ता गराएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार तराई मधेस लोकतान्त्रिक पार्टी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकबाहेक मोर्चासम्बद्ध सबै दल दर्ता छन् ।
तोकिएको समयभित्र ३० वटा दल दर्ता भएको कार्यालयले जनाएको छ । सिरहा, रौतहट, पर्सा लगायतका जिल्लाहरुमा पनि मोर्चासम्बद्ध दलहरु दर्ता भइसकेका छन् ।












प्रतिक्रिया