काठमाडौं, १४ चैत । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सोमबार एक महिला नेतृले नेताहरुको सातो लिएकी छन् ।
दाङबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य एवं सांसद पार्वती डिसी चौधरीले फुट्नेगरी टेबल ठोकेर सहरी विकासमन्त्री अर्जुननरसिंह केसीको सातो लिएकी हुन् । उनले बैठकमा ताकत लगाएर टेबुल ठोक्दा अगाडि बसेका सभापति शेरबहादुर देउवा, महामन्त्री संशाक कोइराला पनि तर्सिएका थिए ।
बैठकमा किन फुट्नेगरी टेबुल ठोकिन पार्वतीले ?
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको आजको बैठकमा सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले आफूले मन्त्री भएर गरेका कामहरुबारे जानकारी गराउँदै थिए । त्यसक्रमा उनले पार्टीको संस्थागत निर्णयअनुसार आफूले नगरविकास समितिको राजनीतिक नियुक्ति र मन्त्रालयको कामहरु गरेको छु भने । यति भनिसकेपछि पार्वतीले ताकत लगाएर टेबल ठोकिन् । अगाडि बसेका सभापति, महामन्त्री लगायत सिनियर नेताहरु तर्सिए । अरु अचम्म परे । बोल्दै गरेका मन्त्री केसी पनि रोकिए । बैठकमा एकछिन सान्नटा छायो ।
त्यसपछि आक्रोशित हुँदै पार्वती बोलिन्– ‘तपाईले विल्कुल गलत कुरा गर्नुभयो । कहाँ के काम गर्नुभयो हँ पार्टीको संस्थागत निर्णयअनुसार । झुटो कुरा भन्ने ?’
मन्त्री केसी बोल्दै गर्दा हस्तक्षेप गरेकी पार्वतीको यो भनाईमा समर्थन जनाउँदै झण्डै एक दर्जन केन्द्रीय सदस्यले ताली पिटे ।
त्यसपछि हौसिँदै उनले अगाडि भनिन्– निर्वाचनमा पार्टीको तर्फबाट बागी उम्मेदवार उठ्यो भने पाँच वर्ष कारवाही गर्ने विधानमा व्यवस्था छ । त्यसलाई अबको निर्वाचनमा कार्यान्वयन गर्नुपर्छ । त्यस्तै काम नगर्ने मन्त्रीलाई पनि कारवाही गर्नुपर्छ ।
बैठककै बीचमा प्रकाशमान सिंहले अहिले पार्टीबाट सरकारमा गएका मन्त्रीले राम्रो काम नगरेको भन्दै पार्वतीको भनाईमा समर्थन जनाए ।












प्रतिक्रिया