काठमाडौं, ११ असोज । अस्ट्रेलियन नागरिक पान्कुस एस्भारले केही दिनअघि अनलाइनमार्फत किताब अर्डर गर्दा रत्न पुस्तक भण्डारका प्रबन्धक गोविन्दप्रसाद श्रेष्ठ चकित परे। एस्भारले मगाएका किताबको सूचीमा सबै नेपाली भाषाकै साहित्यिक कृति थिए। एउटा–दुइटा होइन, ४१ वटा।
नेपालकै पुरानो प्रकाशन गृह रत्नले अनलाइन बुकिङ सुरु गरेको ६ महिनामै दर्जनौं देशबाट पुस्तकको माग आइरहेको समाचार आजको नागरिक दैनिकले छापेको छ।
‘नर्वे, न्युजिल्यान्ड, आयरल्यान्ड, दक्षिण कोरिया, अमेरिका, बेल्जियमजस्ता देशबाट किताबको माग आएको आयै छ,’ श्रेष्ठ पुलकित हुँदै सुनाउँछन्, ‘पुस्तक बिक्रीका लागि अब ठूलो पसल जरुरी रहेन, एउटा कम्प्युटर भए विश्वभर पुर्या्उन सकिने भयो।’
माग गरिएका पुस्तक हुलाकमार्फत सम्बन्धित देशका पाठकलाई पुर्याउँदै आएका उनले अनलाइन बजारले साहित्यको आयातन एक्कासि फैलिएको अनुभव साँचेका छन्।
शैक्षिक तथा वैदेशिक रोजगारका सिलसिलामा विश्वका धेरै देशमा नेपाली छरिएका छन्। देशबाहिर बसेका नेपालीले यहाँबाट नेपाली भाषा–साहित्यका कृति झिकाइरहेका छन्, विदेशी पाठकमा समेत नेपाली साहित्यप्रतिको रुचि बढ्दो देखिन्छ।
श्रेष्ठकै भनाइअनुसार अब नेपाली साहित्य देशभित्र मात्र सीमित रहेन, यसले पखेटा हालिसकेको छ। सार्थक उडान भर्न भने अझै बाँकी छ। पाश्चात्य साहित्यका लागि दक्षिण एसियाको भारतसँग नजिकको सम्बन्ध रहे पनि छिमेकी नेपाली साहित्यको स्थान खोज्न त्यति सजिलो छैन।
आखिर अन्तर्राष्ट्रिय साहित्यिक भूगोलको कुन बिन्दुमा होला त नेपाली साहित्य ‘नेपालका विश्वविद्यालयमा विश्वसाहित्यबारे पर्याप्त पठनपाठन हुन्छ, तर विश्वसाहित्यमा नेपाली साहित्यको पठनपाठन शून्यप्रायः छ,’ अंग्रेजी साहित्यका प्राध्यापक तथा अन्तर्राष्ट्रिय साहित्यका अध्येता गोविन्दराज भट्टराई भन्छन्, ‘नेपाली साहित्यको इतिहास नै छोटो छ। देश र काल नाघेर टाढासम्म पुग्ने शक्ति आर्जन गरिनसकेकाले विश्वसाहित्यमा यो अदृश्यझैं लागेको हो।’
टर्कीका उपन्यासकार ओर्हान पामुकले २००६ को नोबेल पुरस्कार पाएपछि नै विश्वको नजरबाट छेलिएको इस्तानबुल सहर एकाएक चम्किएको उनी बताउँछन्। ‘उनका कृति टर्किसबाट अंग्रेजीमा अनूदित भएकै कारण यो सफलता प्राप्त भएको हो,’ भट्टराई भन्छन्, ‘मेरै उमेरका पामुकले एउटा सानो देशबाट नोबेल पुरस्कार जिते। यसले देखाउँछ, देश ठूलो र समृद्ध भएर हुँदैन, लेखनका लागि ठूलो शक्ति चाहिन्छ।’















प्रतिक्रिया