इन्चोन, ११ असोज । नेपाली मुक्केबाज पूरन राईको इन्चोन एसियाली खेलकुदमा पदक जित्ने झिनो सम्भावना शुक्रबार सकिएको छ। फिलिपिन्सका बक्सर मारियो फर्नान्डेजसँग अंकका आधारमा ३–० ले पराजित भएसँगै पूरनको एसियाडमा पदक जित्ने सम्भावना टुंगियो।
तीन राउन्डमा उनले जजबाट ९–९ अंक बटुल्दा उनका विपक्षीले १०–१० अंक पाएका थिए। सुरुआतबाटै रक्षात्मक रणनीतिसाथ खेलेका पूरन क्वार्टरफाइनल पुग्न सकेनन्।
उनले साउदी अरबका याह्या हसन एसाराहेलीलाई ३–० अंकले हराउँदै नेपाललाई पदक दिलाउने आशा जगाएका थिए। इन्चोन एसियाडमा एउटा खेल जित्ने उनी दोस्रा खेलाडी हुन्। त्यसअघि उसुकी झरना गुरुडले सान्सौंमा एक खेल जितेकी थिइन्। झरना पनि क्वार्टरफाइनलबाट अघि बढ्न सकिनन्।
आठौं दिन पनि अन्य खेलमा नेपाली खेलाडीको प्रदर्शन निराशाजनक रह्यो। आर्चरी, गल्फ, टेनिस, भारोत्तोलन, पौडी, महिला बास्केटबलमा नेपाली खेलाडीले गतिलो प्रदर्शन दिन नसकेको समाचार आजको नागरिक दैनिकले छापेको छ ।
आर्चरी
नेपाली खेलाडी जितबहादुर मोक्तानले रिकर्भ पुरुष व्यक्तिगत स्पर्धामा जितबाट एसियाड यात्रा सुरु गरे पनि त्यसलाई निरन्तरता दिन सकेनन्। एसियाडमा एक खेल जित्ने तेस्रो खेलाडी बन्ने क्रममा जितबहादुर कुवेतका अहमद अलसाटीलाई ६–० स्कोरले पराजित गरे।
अन्तिम ३२ को उक्त खेलमा उनले लगातार तीन सेटमा विपक्षीलाई हराए। प्रिक्वार्टरफाइनलमा भने उनी चाइनिज ताइपेइका वेइ चेङ कुसँग ६–२ स्कोरले पराजित हुन पुगे।
सोही इभेन्टको अर्को खेलमा रमेश भट्टचन साउदी अरेबियाका सामी साव अलवारबडीसँग ६–२ स्कोरले पराजित भए।
रिकर्भकै महिला व्यक्तिगततर्फ आयशा तामाङ चीनकी चेङ मिङसँग ६–० स्कोरले पराजित भइन्। अन्तिम १६ को प्रतिस्पर्धामा अर्की नेपाली खेलाडी मोनिका रानामगर पनि चीनकी जिन जुसँग ६–० ले नै हार्न पुगिन्।
रिकर्भ पुरुष टिम इभेन्टमा नेपाल मलेसियासँग ५–१ ले पराजित भयो। प्रतिस्पर्धामा कमजोर नेपाली महिला टोली रिकर्भमा चाइनिज ताइपेइसँग ६–० ले हार्योव।
महिला बास्केटबल
अघिल्लो दिन कतारको वाकओभरबाट विजयी नेपाली महिला बास्केटबल टोली शुक्रबार हङकङसँग १०४–२८ को फराकिलो स्कोरबाट पराजित भएको छ।
ह्वासेयोङ स्पोर्टस कम्प्लेक्समा पहिलो क्वार्टरमै ३०–१० ले पछि परेको नेपालको प्रदर्शन दोस्रो क्वार्टरमा झनै कमजोर भयो। नेपालले ३ स्कोर गर्दा विपक्षीले ३६ स्कोर थप्यो। तेस्रो क्वार्टरमा नेपालले ५ थप्दा हङकङले २० स्कोर बटुल्यो। चौथो तथा अन्तिम क्वार्टरमा हङकङले १८ स्कोर थप्दा नेपालले १० स्कोरमात्र थप्न सक्यो।
नेपालबाट प्रीति तुलाचनले सर्वाधिक १० स्कोर गर्दा स्नेहा श्रेष्ठले ९ तथा लुनिभा सिंह र अनुषा मल्लले ४–४ स्कोर गरेका थिए।
पहिलोपल्ट एसियाडमा भाग लिएको नेपाली महिला टोली समूह चरणको पहिलो खेलमा ताजकिस्तानसँग १०६–३५ ले पराजित भएको थियो। शनिबार अन्तिम लिग खेलमा मंगोलियासँग प्रतिष्ठाका लागि प्रतिस्पर्धा गरेसँगै बास्केटबलमा नेपालको यात्रा सकिनेछ।
पौडी
शिरीष गुरुङले २०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाउनुबाहेक नेपाली पौडी टोली अनुभव बटुलेर स्वदेश फर्कंदैछ। शुक्रबार सोफिया शाह महिला ५० मिटर फ्रिस्टाइलको आफ्नो हिटमा सातौं भएसँगै एसियाडमा नेपालको पौडी यात्रा सकिएको छ।
मुहान्क पार्कको तेह्वान एक्वाटिक्स सेन्टरमा सोफियाले ३१।७२ सेकेन्डमा दूरी पूरा गरेकी थिइन्। हिटको शीर्षमा रहेकी हङकङकी सियोभान बर्नाडेट हौगेभन्दा सोफिया ६ सेकेन्डले पछाडि थिइन्।
शिरीषले २०० मिटर फ्रिस्टाइलमा २ मिनेट १०।२३ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए। उनले आफ्नै कीर्तिमानमा दुई सेकेन्ड सुधारेका थिए।
भारोत्तोलन
भारोत्तोलनको १०५ केजीमाथिको तौल समूहमा नेपालका गोपालबहादुर श्रेष्ठ समूह ‘बीु को पुछारमा रहे। उनले क्लिन एन्ड जर्कमा १ सय ५० र स्न्याचमा १ सय १४ केजी गरी कुल २ सय ६४ केजीको भार उचाले। यस स्पर्धामा इराकका मोहम्मद जसिम अल अल्फुरी ३ सय ९१ केजी उचाल्दै शीर्ष स्थानमा रहे।
महिला ७५ केजी माथिको प्रारम्भिक चरणमा नेपालकी तारादेवी पुन पुछारमा रहिन्। कुल १ सय ६१ केजीको भार उचालेकी उनले स्न्याचमा ६७ र क्लिन एन्ड जर्कमा ९४ केजी उठाइन्। समूहका १० खेलाडीमध्ये शीर्ष स्थानकी चिनिया की लुलु झोउले ३ सय ३४ केजी भार उठाइन्। झोउको त्यो विश्व कीर्तिमान थियो।
गल्फ
गल्फको व्यक्तिगत दोस्रो चरण समाप्तिमा नेपाली गल्फर टंकबहादुर कार्की ३७औं स्थानमा रहे। शुक्रबार १ ओभर पार ७३ को प्रदर्शन गरेका उनको दुई दिनको कार्ड ६ ओभर पार १ सय ५० रहेको छ।
टासी छिरिङ पनि १ ओभर पार खेल्दै समग्रमा ८ ओभर पार १ सय ५२ को कार्ड बनाएर ४७औं स्थान रहेका छन्। विष्णुप्रसाद शर्मा पनि ४७औं स्थानमै छन्। शुक्रबार ३ ओभर ७५ स्कोर गरेका उनको समग्र प्रदर्शन १ सय ५४ स्कोरको छ। दिनेश प्रजापति नेपाली खेलाडीमध्ये सबैभन्दा पुछारमा छन्। ६१औं स्थानमा रहेका उनले समग्र प्रदर्शन ७ ओभर ७९ स्कोरको छ।
नेपाल टिम इभेन्टमा ११औं स्थानमा रह्यो। दुई राउन्ड समाप्तिमा नेपालको ४ सय ५६ स्कोर छ।
टेनिस
महिला युगलमा पराजित भएसँगै शुक्रबार टेनिसमा नेपालको यात्रा टुंगिएको छ। नेपाली जोडी अन्तिम खेलमा शुक्रबार उज्वेकिस्तानसँग २–० को सोझो सेटले पराजित भयो। विजिशा श्रेष्ठ र इरा रावतको जोडी योरुमुल टेनिस कोर्टमा उज्वेक जोडी अकुल अमनमुरादोभा र निकिना अब्दुराइमोभाको जोडीसँग ६–०, ६–० को सोझो सेटमा पराजित भयो।













प्रतिक्रिया