काठमाडौं, १२ चैत । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी सरकार नेकपा एमालेको नेतृत्वमा बन्ने दाबी गर्नुभएको छ ।
शनिबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै ओलीले अब बन्ने सरकारको नेतृत्व एमालेले गर्ने र देशको समृद्धिका लागि काम गर्ने बताउनुभयो ।
आफूलाई पुनः प्रधानमन्त्री बन्ने कुनै चाहना नरहेको भएपनि सरकार एमालेको नेतृत्वमै बन्ने उहाँले बताउनुभयो । एमाले नेतृत्वको सरकारले १० वर्षभित्र देशलाई वास्तविक नेपाल बनाउने बताउनुभयो ।
उहाँले भन्नुभयो ‘मलाई प्रधानमन्त्री बन्ने चाहाना पटक्कै छैन । म नबनेपनि अबको सरकारको नेतृत्व एमालेले गर्छ, जसले १० वर्षभित्र समृद्ध देश बनाउने छ ।’ साथै, उहाँले देश विकासका लागि पैसा मात्रै ठूलो कुरा नभएको बताउनुभयो ।
योजनाहरु निर्माण गरेमा पैसाको त्यति धेरै खाँचो नपर्ने उहाँको भनाई छ । आफूले पनि देश विकासका लागि पैसानै नचाहिने अनुभव गरेको बताउनुभयो ।
अहिलेसम्म देश विकासका लागि योजना बन्न नसकेको बताउँदै उहाँले अब बन्ने एमालेले नेतृत्वको सरकारले योजना बनाएर देश विकासमा काम गर्ने बताउनुभयो । आज प्रा.डा भीष्मराज प्रसाईद्वारा लिखित ‘आफैंलाई फर्केर हेर्दा’ पुस्तक विमोचन गरिएको थियो ।











प्रतिक्रिया