– नरेश केसी
भैरहवा, ११ चैत । सन् २०१७ को जुन २ तारिख अर्थात २०७४ जेठ १९ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको चिनिया कम्पनी नर्थवेस्ट सिभिल कन्सट्रक्सन ग्रुप लिमिटेड चाइनाले लगत भेरियसन र समय थप गराउने ध्ययेले गौतमबुद्ध विमानस्थल निर्माणमा विवाद गरेको बुझिएको छ ।
२०७१ साल माघ १ गते विहीबारका दिन तत्कालिन प्रधानमन्त्री स्वर्गिय सुशील कोइरालाले शिलान्यास गरेको विमानस्थल निर्माणको ठेक्का ग्लोबल टेन्डर मार्फत चिनीया कम्पनि नर्थवेस्ट सिभिल कन्सट्रक्सन ग्रुप लिमिटेड चाइनाले कुल ६ अरब २२ करोड ५१ लख ३० हजार २ सय २७ रुपैयां ९१ पैसा लागतमा निमांण सम्पन्न गरीे ठेक्का पाएको हो । सन् २०१८ जनवरी १ तारिखको दिन अन्तराष्ट्रीय विमान भैरहवामा अवतरण गराउनेगरी निर्माणको ठेक्का पाएको उक्त चिनीया कम्पनिले आन्तरिक रुपमा २० प्रतिशत आफुले राख्ने र अन्य ८० प्रतिशत रकम दिएर सब कन्ट्रयाक्टर मार्फत काम गर्नेगरी सब कन्ट्रयाक्टरको रुपमा नेपाली कम्पनि नर्थवेस्ट नेपाल ईन्फा प्रा.लिसंग सम्झौता गरी कामलाइ अगाडी बढायो ।
तर कामगर्दै जादा चिनीया कम्पनिले २०१४ मा गरेको सहमति अनुसार काम गर्दा सोचेंजस्तो फाइदा नहुने भन्दै समय थप र लागत भेरियसन बढाउनेगरी प्रक्रिया थाल्न नेपाली कम्पनिलाइ प्रत्यक्ष अप्रत्यक्ष दबाब दिएपछि नेपाली कम्पनिले नमान्दा अहिले सम्झौता तोड्ने सम्म चिनीया कम्पनि पुगेको देखिएको छ ।
नेपाली कम्पनिले भने पुर्ववत सहमति अनुसार ठेक्का सम्झौता गरेकै रकममा तोकिएको काम तोकिएकै समयमा सम्पन्न गर्न सकिने हुनाले चीनिया कम्पनिले विभिन्न बहाना बनाइ नेपाली कम्पनीसंग विवाद गर्न थालेको नेपाली पक्षले आरोप लगाएको छ ।
नेपाली पक्ष सब कन्ट्रयाक्टर नर्थवेस्ट नेपाल ईन्फा प्रा.लिका अध्यक्ष राजु गुरुंगले भने “मधेस आन्दोलन, राजनितीक उतावचढाव र निर्माण सामग्रीको अभावको कारण अहिले १ सय ६७ दिन म्याद थपिएको छ । चिनिया कम्पनिले २०१४ को लगत इस्टीमेटसंग अहिलेको मूल्य नमिल्ने हुदां लागत बढाएर काम गर्नुपर्छ भनेको छ तर हामिले मानेका छैनौ । उसले लागत र समय बढाएर पैसा भरी कुम्लाएर चिन जाने सोंचमा छ । हामी नो भेरियसन , नो ड्युरेशन भनिरहेका छौं । ६ सय २२ करोड भित्रै यो काम सम्भब छ , सोहि बजेटमा काम गर्नुपर्छ भन्दा चिनीया कम्पनिले विभिन्न विवाद निकालेको हो ।”
विमानस्थलमा निर्माणको ठेक्का चिनीया कम्पनिले पाएको भएता पनि सम्पुर्ण काम गरिरहेको सब कन्ट्रयाक्टर नर्थवेस्ट नेपाल ईन्फा प्रा.लिले समयमै र पुर्व लगत इस्टीमेटकै रकममा आयोजना सम्पन्न गर्न अरु कुनै कम्पनि तयार भएपनि आफुहरु सेकेन्डभरमै ठाऊ छाड्न तयार भएको बताए । अध्यक्ष गुरुंगले भने “हामी कुनैपनि हालतमा यो आयोजना तोकिएकै समयमा र तोकिएकै रकममा पुरा हुनुपर्छ भन्ने मान्यतामा छौं । यदि हामी हट्दा चिनीया कम्पनि र सरोकारवाला निकायलाई सहज हुन्छ भने हाम्रो हिसाब किताब गर्दिएर हामीलाई पठाउदा हुन्छ । हामी तत्काल ठाऊ छाड्न तयार छौं । हाम्रो कुनै अवरोध छैन । ”
विमानस्थलसंग सरोकारित दातृ संस्था एडिबी, कन्सलट्यान्टको जिम्मा पाएको युसीन कोरियन कन्सलट्यान्ट र परियोजना क्यानले संयुक्त रुपमा मूल्यांकन गर्दा विमानस्थलमा अहिले सम्म २७ प्रतिशत काम भएको जनाएकोछ ।
नेपाली कम्पनि नर्थवेस्ट नेपाल ईन्फा प्रा.लिले अहिले सम्म चाइनीज कम्पनिसंग करिब ५५ करोड लिन बाकी रहेको दाबी गरेको छ । तर यसै हप्ता क्यानबाट २ करोड , एडिबीबाट ६ करोड गरी कुल ८ करोड रकम बुझेको चाइजीन कम्पनिले नेपाली कम्पनिलाई एक रुपैयां पनि नर्दिएपछि लेनदेनको विवाद सतहमा आएको हो । चिनीया कम्पनि मुख्य ठेकेदार भएकोले उसको नाममा रकम आउने तर काम गर्ने सब कन्टयाक्टरलाई पैसा नदिने गरेको बुझिएको छ । सब कन्ट्याक्टरले पैसा नपाउदां सोही आयोजनामा खटिएका २ सय ५० जना भन्दा बढी कर्मचारीले केहि महिनादेखी तलब समेत पाउन सकेका छैनन ।
यता आयोजना स्थलमा अवरोध भएको भन्दै केही पक्षले आयोजना निर्माण स्थलमा सुरक्षा व्यवस्थ ागर्न माग गरेको बुझिएको छ । तर आयोजना प्रमुख ईन्जिनियर ओम शर्माले आयोजना स्थलमा कुनैपनि अवरोध सृजना नभएको जनाएका छन् । उनले भने “सुरक्षाको दृष्टिले कुनैपनि समस्या छैन । ” हामीले जान्ने चिनीया कम्पनिलाई हो , उसलाई काम सुचारु गर्न भनेका छौं । यहां काम गर्दा कुनैपनि असुरक्षा छैन । हामी सबै किसीमको सुरक्षाको प्रत्याभुति गरेका छौं । ”
स्रोतका अनुसार चिनीया पक्षले आयोजना स्थलमा असुरक्षा भएको भन्दैं मन्त्रालयमा जानकारी गराएको बुझिन आएको छ ।
चिनीया र नेपाली पक्षबीच विवाद भएपछि आयोजनाको मध्यस्तथामा बैठक समेत बसी सहमती भइसकेको बुझिएको छ । पर्यटन मन्त्रालयका सहसचिव डन्डु घिमिरे, क्यानका डेपुटी डाइरेक्टर राजकुमार क्षेत्री , एडिबीका नरेश प्रधान, आयोजना प्रमुख ओम शर्मा लगायतको रोहबरमा चिनीया कम्पनि नर्थवेस्ट सिभिल कन्सट्रक्सन ग्रुप लिमिटेड र सब कन्ट्रयाक्टर नर्थवेस्ट नेपाल ईन्फा प्रा.लिबीच विवाद समाधान गरेर निर्माण कार्य सुचारु गर्ने सहमति भइसकेकोले छ ।
सहमति पत्रमा चिनीया कम्पनिमा उपाध्यक्ष वाङ जीडयांङ र नेपाली पक्षका अध्यक्ष राजु गुरुंगले हस्ताक्षर गरेका छन् । विवाद गर्ने पक्ष विपक्षबीच आपसी सहमति भइसकेकोले निर्माण कार्य केहि दिनमै सुचारु हुने आयोजना प्रमुखले विश्वास व्यक्त गरे । यता चिनीया पक्षले नेपाली पक्ष नर्थवेस्ट नेपाल ईन्फा प्रा.लिलाई सरकारी डकुमेन्टेशनमा सप्लायर्स मात्रै भनेको तर लिखीत रुपमा अंग्रेजी र चिनीया भाषामा कन्ट्रयाक्टर र सब कन्ट्रयाक्टरको रुपमा काम गर्ने सम्झौता गरेको समेत देखिएको छ । जसले गर्दा चिनिया पक्षले किन झुटको खेति गरेको छ भनी शंका उपशंका पनि सृजना हुन थालेको छ ।
निर्माणको ठेक्का पाएको नर्थ वेस्ट सिभील एभीएशन एअरपोर्ट कन्सट्रक्शन ग्रुपले ठेक्का लिई सब कन्ट्रयाक्टरको रुपमा नेपाली ठेकेदार कम्पनि नर्थवेस्ट नेपाल ईन्फा प्रा.लिलाई २०७२ साउन देखी आन्तरिक सम्झौता गरी सम्पुर्ण निर्माण कामको ठेक्का दिएको थियो ।
के के काम सम्पन्न भयो के बाकी छ ?
विमानस्थलमा टाइप वानको काम सम्पन्न भइसकेको छ । प्रथम चरणमा बिमानस्थलको ३ हजार मिटरको रनवे ,ट्याक्सी वे, अन्तर्राष्ट्रिय टर्मिनल भवन, टावर, प्रशासकिय भवन, आन्तरीक तथा बाह्य पेरीफेरी रोड, एअर कार्गो बिल्डींग, सुरक्षा पोष्ट भवन, बिमानस्थल सडक, नदि डाईभर्सन लगायतका भौतिक निर्माणका कार्यहरु गर्ने गरी कन्सट्रक्सन ग्रुपले ठेक्का पाएको थियो । जस अनुसार घाग्रा नदिको डाइर्भसन, धावन मार्गमा माटो फिलिंग, भस्कट फिलिंग र मिस्कट फिलिंग भइसकेको छ । सबै विल्डििंगहरुको जग निर्माण कार्य तथा जहाज पार्किंक स्थल निर्माण पनि अन्तिम चरणमा पुगेको नेपाली निर्माण कम्पनि नर्थवेस्ट नेपाल ईन्फा प्रा.लिका अध्यक्ष गुरुंगले जानकारी दिए ।
समग्रमा अहिले सम्म २७ प्रतिशत काम सम्पन्न भइसकेको छ । विमानस्थलको स्तरोन्नतीका लागि पछिल्लो पटक थप २ सय ८८ विघा जग्गा अधिग्रहणका लागि प्रस्ताव गरिएकोछ । आयोजनाका अनुसार पुर्वमा गल्लामण्डी स्थित हनुमान मन्दिरको पश्चिम तर्फ वार्ड नम्बर ४ को कुलो, पश्चिम तर्फ तिनाउ खोलासम्म, उत्तरतर्फ हनुमान मन्दिर देखि लुम्बिनी रोड स्थित मायादेवी चोक सम्म बाटोको केन्द्र देखि ७५ मटिर दक्षिण तर्फ र दक्षिण तर्फ अधिग्रहण भइसकेको सिमाना देखि २ सय मिटर सम्म प्रस्ताव गरिएको छ ।
गौतबुद्ध विमानस्थल अन्तराष्ट्रिय स्तरको बन्ने कार्य शुरु हुनुमा मुख्यतयाः बुद्ध जन्मस्थल लुम्बिनी भएको देखिन्छ । एडिबीको दक्षिण एशियाली पर्यटन पुर्वाधार विकास आयोजनाले विश्व पर्यटनको केन्द्र लुम्बिनीलाई मध्यनजर गरी भैरहवा विमानस्थलमा लगानी गर्ने आट गरेको हो ।
विमानस्थललाई अन्तराष्ट्रिय स्तरको बनाउने कार्यमा एडिबीले ५८ दशमलब ५ प्रतिशत, साउदी अरबको साउदी फन्डबाट ३० दशमलब ५ प्रतिशत र नागरिक उड्डयन प्राधिकरण (क्यान) ले ११ प्रतिशत लागत बेहोेर्ने गरी निर्माण कार्य शुरु भएको हो ।
अहिले थप प्रारम्भीक रुपमा प्रस्तावित २ सय ८८ विगाह क्षेत्रफलका जनताहरुले सम्मानजनक स्थापीत तथा सहि मुआब्जाको माग गर्दै आन्दोलन समेत गरिरहेका छन् । सो क्षेत्रमा करिब साढे ३ सय घरधुरी पर्ने आंकलन गरिएको छ ।
विमानस्थलले अधिग्रहण गर्ने क्षेत्रका जनता र घरधुरीसंग नियमित अन्तक्रिया र छलफल गनुपर्ने आयोजना प्रमुख ठेकेदार कम्पनिको विवाद मिलाउन लाग्नुपर्दा नियमित काममा समेत समस्या देखिएको छ ।
नागरिक समाजको चिन्ता
सबैको सपनाको केन्द्र गौतमबुद्ध विमानस्थल निर्माणमा विवाद देखिएपछि तोकिएकै समयमा काम सम्पन्न नहुदां कतै सदियौंको सपना यसै तुहिने त होइन भनी यस क्षेत्रका नागरिक अगुवाले चिन्ता व्यक्त गरेका छन् ।
नागरिक अगुवा ओमकार गौचनले भने “यो वा त्यो मानेमा निर्माण काम रोकिनु हुदैन । कुनैपनि हालतमा निर्माण कार्यलाइ निरन्तरता दिनुपर्दछ । ”
लुम्बिनी अभियन्ता अग्रज पत्रकार चेतन पन्तले गौतमबुद्ध विमानस्थल निर्माणसंगै यस क्षेत्रमा बढेको चार्मिंग र पर्यटन व्यवसायमा ओइरिएको लगानीमा धक्का लाग्ने जनाए । उनले तत्काल सरोकारवाला निकायले ध्यान दिएर निर्माण कार्यलाइ निरन्तरता दिनुपर्नेमा समेत जोड दिए ।
भैरहवा क्षेत्रका उद्योगी मोहित अग्रवालले विमानस्थ्ल निर्माणमा देखिएको विवादले लगानीमा नकारात्मक असर समेत पुराउने हुदां यस्ता गलत काम रोकिनु पर्ने बताए । सामाजिक अभियन्ता तिलकुमारी गुरुंगले गौतमबुद्ध विमानस्थल भैरहवाबासीको मात्रै नभएर सिंगो राष्ट्रको गौरब भएकाले सरोकारवाला निकाय एक भएर तोकिएकै समयमा निर्माण कार्य सम्पन्न गराउनुपर्नेमा जोड दिइन् ।













प्रतिक्रिया