काठमाडौं, ११ चैत । प्रमुख दल नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री डा. नारायण खड्काले निर्वाचनमा भाग लिए मधेशी मोर्चालाई नै फाईदा हुने स्पष्ट पारेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता खड्काले भने, ‘अहिले स्थानीय तहको निर्वाचनमा भाग लिए मधेशी मोर्चालाई नै फाईदा हुन्छ, यो फाईदा उठाउनको लागि पनि उहाँहरु चुनावमा जानुपर्छ ।’
मधेशी मोर्चा र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विगतमा दुई ध्रुवमा भएपनि अहिले एकै ठाउँमा आईरहेको उल्लेख गर्दै खड्काले भने, ‘हिजो सम्वादहिनताको अवस्थामा रहेका मधेशी मोर्चा र एमाले आज करिब करिब सम्वादको नजिक हुनुहुन्छ, यस्तो बेलामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डजी चीन भ्रमणमा जानुहुँदैन्थ्यो, उहाँको सट्टा अरु कोही प्रतिनिधिलाई पठाएर नेपालमा विद्यमान रहेको राजनीतिक गाँठो फुकाउने काम गर्नुपर्दथ्यो ।’
‘निर्वाचन हुनेमा कसैलेपनि शंका गर्न नहुने’
नेता खड्काले स्थानीय तहको निर्वाचन हुनेमा कसैलेपनि शंका गर्न नहुने बताए ।
उनले भने, ‘अब निर्वाचन हुँदैन कि भनेर कसैलेपनि शंका गर्नुहुँदैन, निर्वाचन तोकिएकै मितिमा हुन्छ, तर निर्वाचन कम चूनौति र बढि मौका र अवसर हो, यसलाई सबै राजनीतिक दलहरुले उपयोग गर्नुपर्छ ।’
उनले मधेशी मोर्चालेपनि निर्वाचनमा भाग लिनुपर्नेमा जोड दिए । स्थानीय तहको निर्वाचन लामो समयपछि हुन गैरहेकोले सबै दलहरुले निर्वाचनमा उत्सापूर्वक भाग लिनुपर्ने बताउँदै उनले भने, ‘अब हुन गैरहेको स्थानीय तहको निर्वाचन विश्वकै पहिलो अनुपम प्रयास हो ।’ विश्वमा अरु निर्वाचनहरु पहिले केन्द्रको, त्यसपछि प्रदेश र स्थानीय तहको हुने उदाहरण पेश गर्दै खड्काले नेपालमा पहिलो चुनाव नै स्थानीय तहको हुन गैरहेकोले यो अनुपम र उदार जनपक्षीय हुने दाबी गरे ।
उनले भने, ‘यसरी निर्वाचन हुँदा केन्द्रले प्रदेश र प्रदेशले स्थानीय सरकारलाई हस्तक्षेप गर्न सक्दैन्, त्यसैलेपनि यो अनुपम हुनेछ ।’ निर्वाचनमा भाग लिँदा नै मधेश र मधेशी जनताको जीत हुने उनको भनाई थियो ।












प्रतिक्रिया