३ कार्तिक २०८३, मंगलबार

सामुहिक तरकारी खेतीमा रौतहटका कृषक

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– पुजा तिमल्सिना

रौतहट, ११ चैत । जिल्लामा सामुहिक तरकारी खेती गरेर आम्दानी गर्ने किसानको संख्या बढ्दै जान थालेको छ । जिल्लाको बिभिन्न स्थानमा गैरसरकारी संस्थाहरुको सक्रियतामा समुहिक तरकारी खेती फस्टाउन थालेको स्थानीय बासिन्दाले बताएका छन् ।

रौतहटको बृन्दावन गाउँपालिकाको धनगढी टोलमा २१ जनाको समुहले तरकारी खेती सम्बन्धी तालिम लिएर व्यावसायीक तरकारी खेती गरेका छन् । आरडिसी नेपाल नामको गैरसरकारी संस्थाको प्राविधिक सहयोगमा सो स्थानका किसानले सामुहिक तरकारी खेती गरेका हुन् । विउविजन, सिंचाई, तरकारी खेती सम्बन्धी तालिम सो संस्थाले दिएका कारण आफूहरुलाई तरकारी खेतीमा सहयोग पुगेको स्थानीय किसान गुरु दयाल राउतले बताए ।

समुहिक तरकारी खेती भनेर सो स्थानका किसानले समुहमै मिलेर तरकारी फलाउने नभएर समुह बनाएर तरकारी खेती सम्बन्धी प्राबिधिक सल्लाह समुहमा लिने समुहमा मिलेर सिंचाई गर्ने तर तरकारी भने आ–आफ्नै खेतमा लगाउने गरेका अर्का स्थानीय किसान नथुनी मुखियाले जानकारी दिए ।

आरडिसी नेपालले किसानलाई समुह बनाएर एक स्थानमा भेला गराएर तरकारी खेती सम्बन्धी तालिम दिने गरेको सो संस्थाका अध्यक्ष पारस हुसेनले बताए । सो स्थानका किसानले अहिले लहरे तरकारीमा जोड दिएको किसानहरुले जानकारी दिएका छन् । तालिम लिएर तरकारी खेती गर्ने सो स्थानका किसानले बर्षमा तीनलाख सम्म आम्दानी गर्ने गरेको उनीहरुको भनाई रहेको छ ।

यस्तै सोही गैरसरकारी संस्थाको सहयोगमा जिल्लाको गरुडा नगरपालिकाको श्रीपुर टोलमा समेत किसानले स्थानीय साधान र स्रोतको प्रयोग गरेर बिषादी रहित सामुहिक तरकारी खेती गरिरहेका छन् । आफ्नोबारीमा लगाईएको तरकारीको प्रयोगबाट तरकारी किन्नेको स्वास्थ्यमा असर नपरोस भन्नका लागि किसानले बिषादीको साटो स्थानीय बकाईनोको पात, निमको पात, सरिफाको पात, खुर्सानी, लसुन कुटेर झोल बनाएर र गाईको मुत मिसाएर आर्गेनिक तरकारी उत्पादन गर्ने गरेको किसानहरुको भनाई रहेको छ ।

स्थानीय किसान कमल पासवानका अनुसार आफ्नो बारीमा गरिएको सामुहिक तरकारी खेतीमा उत्पादन भएको तरकारीमा बिषादी प्रयोग नभएका कारण माग समेत बढेको भनाई रहेको छ ।

उक्त टोलमा रहेको मिलन कृषक समुहमा आवद्ध रहेर सो स्थानका किसानले समेत सामुहिक रुपमा तालिम लिएर तरकारी खेतीमा लागेपछि उनीहरुको आर्थिक अवस्थामा समेत सुधार आएको सो समुहकी अध्यक्ष निमला देवी पासवानले बताईन् ।

आरडिसी नेपालको सहयोगमा गाउगाउमा महिला कृषक सहकारी संस्थाहरु खोलीएको भएपनि महिलासंगै व्यावसायीक रुपमा तरकारी खेतीमा पुरुषहरु समेत संलग्न रहेका छन् ।

आरडिसी नेपाल चन्द्रनिगाहपुरका जेटिए वलिराम यादवका अनुसार उनीहरुको संस्थाद्धारा संचालित कृषक समुहमा अवद्ध किसानहरुलाई बिषदी रहति तरकारी उत्पादन गर्नका लागि आवश्यक सहयोग र सल्लाह दिने गरिएको छ ।

गाउ गाउमा रहेका यस्ता समुहले उत्पादन गरेको तरकारीका लागि सहरी तथा बजार एरियाबाट व्यापारीहरु घरमै तरकारी लिन आउने गरेको कारण आफुहरुलाई सजिलो भएको भएको उनीहरुको भनाई रहेको छ ।