काठमाडौं, १० असोज । नेकपा एमालेको नवौँ महाधिवेशन ताका एमालेका नेता–कार्यकर्ताको निक्कै चहल देखिने नयाँ बानेश्वरस्थित अर्याल होटलमा शुक्रबार त्यही दृष्य दोहोरियो ।
महाधिवेशनमा अध्यक्षका प्रत्यासी एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेता–कार्यकर्ताको भेटघाटका लागि उक्त होटललाई सम्पर्क कार्यालय बनाउनु भएको थियो । त्यही कारण पनि त्यहाँ झण्डै एक महिना एमालेका नेता–कार्यकर्ताको भिडभाड नै लागेको थियो ।
त्यतिबेला नेपाल समुहका नेता कार्यकताको मात्र बाक्लो उपस्थिति रहने उक्त होटल परिसरमा शुक्रबार भने एमालेका अधिकांश नेता–कार्यकर्ताको उपस्थिति देखियो ।
एमालेको नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी रचना खड्का र एमालेकै कार्यकर्ता लेखनाथ पौडेलको विहे समारोहमा सहभागी हुन पुगेका नेता–कार्यकर्ताका कारण त्यहाँको चहलपहल व्यापक बनेको थियो । नेकपा एमालेकी सबैभन्दा कान्छी सदस्यसमेत रहेकी ३० बर्षीया खड्काले नेपाल समूहबाट केन्द्रीय सदस्य जितेकी थिइन् । तर, उनको विहे समारोहमा बधाई दिन नेपाल समूहका मात्र नेता–कार्यकर्ता त्यहाँ पुगेनन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपालदेखि उपाध्यक्ष वामदेव गौतम अनि तल्लो तहका नेता–कार्यकर्तासम्मले अर्याल होटलमा पुगेर खड्का र पौडेललाई बधाई दिए । कसैले पुप्पगुच्छा दिए त कसैले केही दक्षिण पनि । वधाई दिन अर्याल होटल पुगेका नेता कार्यकर्ताको बधाईपछि दुवै जनाले प्रसन्न मुद्रामा बधाई फर्काएका थिए ।
वैवाहिक समारोहमा ओली गएनन्
नेपाल समूहबाट केन्द्रीय सदस्य भएकी खड्का र ओली समुहबाट केन्द्रीय सदस्य जितेका युवा नेता रामनाथ ढकालका भाञ्जा पौडेलको विवाह समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओली भने गएनन् । उनले स्वकीय सचिव रमेश आचार्यमार्फत फुलको गुच्छा दिएर पठाएका थिए । स्वकीय सचिव आचार्यले विवाह मण्डपमा पुगेर ओलीको तर्फबाट खड्का र पौडेललाई फुलको गुच्छा दिएका थिए ।
महासचिव र सचिव पनि गएनन्
महासचिव इश्वर पोख्र्रेल र सचिव विष्णु पौडेल पनि विवाह समारोहमा जान भ्याएनन् । वरिष्ठ नेता झलनाथ खनाल भने शुक्रबार नै अमेरिका प्रस्थान गरेकाले त्यहाँ उपस्थित भएनन् ।

प्रेम चक्कर
दोलखा जिल्लामा २०४१ जन्मेकी खड्का जिल्ला तहदेखि नै अनेरास्ववियुको राजनीतिमा निरन्तर लाग्दै आएकी थिइन् । अनेरास्ववियु केन्द्रीय सदस्य हुँदै प्रचार विभाग, सम्पर्क विभाग जस्ता महत्वपूर्ण विभागको प्रमुखको जिम्मेवारी सम्हालेकी खड्का जनकपुरको २० औँ महाधिवेशनबाट सचिव पदमा विजयी भएकी थिइन् । काठमाडौँमा सम्पन्न २१ औँ महाधिवेशनमा नविना लामासँग महासचिवमा हारेकी खड्का भर्खरै सम्पन्न एमालेको नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी हुन् ।
उनकी पति पौडेलले पनि लामो समय अनेरास्ववियुमा काम गरेका थिए । पौडेल त्रिचन्द्र क्याम्पसको स्ववियु सदस्य समेत भएका थिए ।
केही वर्ष पहिलेदेखि नै खड्का र पौडेलबीच प्रेम सम्वन्ध रहे पनि सार्वजनिक भने भएको थिएन् । पछिल्लो समय एमालेकै पूर्व पोलिट्व्युरो सदस्य पशुपति चौलागाँई लगायतले खड्का र पौडेलको विवाहलाई औपचारिक रुपमा अघि बढाउन भूमिका खेलेका थिए ।
अरु पनि छन् पाइपलाइनमा
एमालेमा धेरै नेताहरूले राजनीतिक दौरानमा भेटिएका सहकर्मी कमरेडहरूलाई नै जीवनसाथी बनाएका घटना छन् । पार्टीको त्यही पदचाप पछ्याउदै भातृसंगठन अनेरास्ववियूमा पनि यो परम्परा सरेको छ ।
अनेरास्ववियूभित्र धेरै प्रेमसम्बन्ध भएपनि अधिकांश गुपचुप छन् । महासचिव नवीना लामा पनि लामो समयदेखि प्रेमसम्बन्धमा छिन् । अनेरास्ववियूका पूर्व केन्द्रीय सदस्य प्रवीण श्रेष्ठसँगको प्रेममा उनी छिन् । दुवै जना काभ्रेकै हुन् ।
त्यस्तै नेतृ कमला बोहोरा अस्कल क्याम्पसका पूर्वस्ववियू सभापति कमल बस्नेतसँगको प्रेम छ । अखिलकी अर्की नेतृ मेनुका पछाईको पहिला एमालेकै नेता रहेका एक क्याम्पसका प्रिन्सिपलसँग प्रेमसम्बन्ध रहेको थियो । त्यसो त अनेरास्ववियूकै राजनीतिमा चिनजान भई रमेश आचार्य र उन्नती केसी विवाह बन्धनमा बाधिइसकेका छन् । एमाले नेता तथा अखिलका पूर्वअध्यक्ष रवीन्द्र अधिकारीको सचिवालय सदस्य भएकी विद्या भट्टराईसँग विवाह बन्धनमा बाधिएका हुन् । खासगरी कम्युनिष्ट पार्टीहरूमा राजनीतिसँगसँगै एउटै विचारधाराका हुने भएकाले सहकर्मीलाई नै जीवनसाथीका रुपमा रोज्ने प्रवृत्ति छ ।

















प्रतिक्रिया