काठमाडौं, ११ चैत । एमालेकी सांसद दुलारी देवीलाई धुम्बाराहीस्थित पार्टी मुख्यालय धुम्बाराहीमा राखेर अन्तिम श्रद्धाञ्जलि दिइँदैछ ।
अहिले केही समयपछि ललितपुरस्थित बी एण्ड बी अस्पतालबाट दुलारीको शवलाई पार्टी कार्यालय ल्याइने केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
उनले भने, ‘उहाँको शवलाई केही समयपछि पार्टी कार्यालय ल्याइँदैछ । सबै तयारी भएको छ । अध्यक्ष केपी ओलीले उहाँलाई श्रद्धाञ्जलि दिँदै पार्टीको झण्डा ओढाउनु हुनेछ ।’
सांसद दुलारी देवीलाई अन्तिम श्रद्धाञ्जलि दिइसकेपछि शवलाई आजै गृह जिल्ला सर्लाही लगिनेछ । उनलाई श्रद्धाञ्जलि दिनका लागि बिहानैदेखि एमालेका शीर्ष नेता तथा कार्यकर्ताहरू पार्टी कार्यालयमा जम्मा भइसकेका छन् ।
भारतको सीतामढीमा मोटरसाइकल दुर्घटनामा परेकी सांसद दुलारी देवीको उपचारका क्रममा एउटा खुट्ट काट्नु परेको थियो । पछिल्लो समय ललितपुरको बी एण्ड बी अस्पतालमा उपचार गराउँदै आएकी दुलारीको निधन बिहीबार राति भएको हो ।
सामान्य परिवारकी सांसद दुलारीको जन्म सर्लाही जिल्लाको ब्रम्हपुरीमा बिक्रम संवत २०२७ साल वैशाख ३ गते भएको थियो । उनका पति दुई छोरा र दुई छोरी छन् । उनले २०५२ सालदेखि एमालेको राजनीति थालेकी हुन् ।











प्रतिक्रिया