“लाहुरेलाई चाडवाड नआएकै जाति…..परिवारको सम्झनाले पोल्दो रैछ छाती…..” केही बर्ष विदेशमा जाने युवाहरुलाई लक्षित बनाएर विरहका गित संगित गाउने गर्थे । तिनै गितहरुलाई साहारा बनाउदै विदेशिएका युवाहरु आफ्नो घर परिवार लाई सम्झन्थे । तर, अब समय बदलिएको छ । चाडपर्वहरुको खुसी प्रवासमा पनि छाउने गरेको छ । ईस्लाम धर्मावलम्वीहरुको ईद होस वा हिन्दु धर्मावलम्वीहरुको तीज, दशै र तिहार । प्रवासमा काम गरिरहेका नेपालीहरु हरेक चाडपर्वलाई खुसीका साथ मनाउन थालेका छन् । देशको प्रगतिमा हाँस्ने प्रवासीहरु, नेपाली संस्कृतिसँग रमाउने प्रवासीहरु, सपनीमै भएपनि नेपालमा नाच्ने प्रवासीहरु र हृदयमा देशको माया साँच्नेहरु प्रवासीहरु आजभोलि विदेशमै भएपनि आफ्नो संस्कृतिलाई मान्ने गरेका छन अनि मोजमस्तीमा रमाउन थालेका छन ।
लगभग पाँच लाख नेपाली कार्यरत रहेको खाडी मुलुक कतारमा गत हप्ता जुधेका सांगीतिक कार्यक्रमले नेपाली समुदायलाई भ्याईनभ्याई भयो । हप्ता दिनको थकित शरीरमा स्फूर्ति छाएको थियो । एकातिर सर्वाधिक चर्चित नेपत्थ्य व्याण्डको लाइभ कन्सर्ट, अर्कातिर नेपाली समुदायको माउ संस्था एनआरएन कतारद्धारा आयोजित एनआरएन कप २०१४ को फाइनल फुटबल खेल र सांगीतिक कार्यक्रम । कतारको सनैयामा आयोजित नेपत्थ्य व्याण्डको लाइभ कन्सर्टलाई छोड्न नचानेहरुलाई पनि अल अरविक क्लवमा नेपाली फुटबल खेडालीहरुको फाइनल खेल, सांगीतिक प्रस्तुति, निशुल्क प्रवेश र उपहारको बाहरले अत्याधिक दर्शकलाई त्यतै तान्यो । यता लामो समयको प्रतिक्षापछि कतारमा लाइभ कन्सर्ट गरेको नेपत्थ्य व्याण्डले उपस्थित दर्शकलाई मज्जाले नचायो ।
खाम की क्याहो लाम पाते सुरती ….. सुर्ती मिचेझै हात मिच्दै मिच्दै नाचेका नेपत्थ्यका गायक अमृत गुरुङ्गको नाचले धेरैलाई मोहित बनायो । दर्शकहरुलाई उनको नाचले सोह्र बर्षे जवानीको याद दिलायो । उडायो रेलैले…..हुस्सु र कुहिरोले ….जोमसोमे बजार, घर त हाम्रो पोखरा….जोगले हुन्छ भेट, मायाको हुन्छ संसार… भेडाको उन जस्तो… जस्ता धेरै प्रस्तुतिले दर्शकहरुको दिल जित्न सफल भए, नेपत्थ्य व्याण्ड कतारमा । स्टेजमा उनले बोलेका हरेक शब्दमा हौसिएका थिए दर्शकहरु । उनले थपे, गाउँघर सम्झाउ जस्तो लाग्यो, नेपाललाई मादलुको तालमा …. घिन्ताङ्ग, घिन्ताङ्ग मादलुको धुनसँगै अमृतको हलुङ्गो नाचले कतारमा हैन् नेपालको कुनै ठाउँमा कार्यक्रम भइरहेको आभाष हुन्थ्यो । स्टेजबाट लामो स्वरमा उनको आवाज निस्क्यो, सबैलाई नमस्ते है …रमाइरहेका दर्शकहरुको ठूलो स्वरमा फर्किएको नमस्कारले उनी हौसिए जस्तो लाग्थ्यो । उनको प्रश्न प्यारो थियो, हामीलाई हाम्रो देश प्यारो छ ? जबाफमा उनकै कानसम्म पुग्ने गरी दर्शकहरु चिच्याए । उनले थपे, ‘हामीलाई हाम्रो गित प्यारो छ, जसले हाम्रो साहित्य, गीत र देशलाई माया गर्छ पक्कै पनि उसले आफ्नी आमालाई माया गर्छ । नेपालमा धेरै राम्रा ठाउँ छन्, सबै ठाउँमा जान सकिएन भने आफ्नो मामा घर जानु होला…. पहाड जानु होला…. तराई जानु होला…. हिमाल जानुहोला….. सबै ठाउँ रमाइला छन् ।’ उनले जोडेका थिए– नेपालकिो एकता । जसलार्ई धेरै दर्शकहरुले बुझेरै हुनुपर्छ, उनलाई साथ दिए ।
यसै सन्दर्भलाई जोड्दै नेपालीहरु प्रवासमा रमाएको आभाष हुन्छ । सनैयाको सानो हलमा हुने सास्कृतिक कार्यक्रम होस या दोहाका स्टार होटलहरुमा गरिने भव्य कार्यक्रम नै किन नहुन नेपालीहरु भरिभराउ हुन्छन् । नेपाली दर्शकहरुलाई स्टडियम सम्म तान्नका लागी विभिन्न सहयोग र सम्झौता गर्दै कतारका स्थानिय क्लवहरुले आयोजना गर्ने खेलकुद भन्दा सनैयाको खुल्ला मैदानमा यहाँ स्थापित संघसंस्थाहरुले आयोजना गरेका खेल कार्यक्रममा दर्शकहरु उत्साहित देखिने गर्छन । लाग्थ्यो, त्यो उत्साहमा नेपालीपन मिसिएको छ । त्यसो त यहाँका क्लवहरुले खेलकुदलाई माध्यम बनाएर नै विभिन्न अवसर दिँदै आएको छ । यो अवसरले नेपालीहरुका लागी ठूलो उत्साह थपिरहेको छ । यसको एउटा राम्रो उदाहरण बन्न सफल भएको छ, एनआरएन कप २०१४ ।
गत ईदमा तमु समाज कतारले आयोजना गरेको भलिबल खेल त्यतिकै उत्साहजनक रहयो । खुल्ला बालुवा भुँईलाई आफ्नै गाउँघरको घाँसे चौर मानेर धैर्यताका साथ खेल हेरिरहेका दर्शकहरुलाई देखेर खुसी लाग्थ्यो । त्यो उपस्थितिले प्रवासी दर्शकहरुलाई नेपाली खेलाडी कति प्यारा छन् भन्ने राम्रो उदाहरण बन्न सक्छ । हाल कतारमा कार्यरत नेपाली राष्ट्रिय भलिबल खेलाडी लेखनाथ लम्सालले खाँजिएर बसेका दर्शकहरुलाई कला देखाउँदै चित्त दुखाए । यति माया गर्ने दर्शकहरुका लागि मज्जाले बसेर हेर्ने सुरक्षित एउटा सानो स्टडियम कतारमा भैदिए, कतारमा यति धेरै संघसस्थाहरु छन्, नेपाली दुतावास छ, सबै नेपालीले मेहनतले काम गरेका छन् तर यसको आवाज कसले उठाउने ?
नेपालको संस्कृतिलाई माया गर्ने प्रवासीहरुले कतारमा तिजको अवसरमा तिन तिनवटा कार्यक्रमको आयोजना गरे । गुल्मी सेवा समाज, एनआरएनए कतार र नेपाली महिला समाजले हरितालिका तिज भव्य रुपमा मनाए । त्यसो भनिरहँदा तिनवटा संस्थाहरुले सम्वन्य गरी कार्यक्रम गरिदिएको भए नेपाली संस्कृतिसँगै मितव्ययी नेपालीको रुपमा पनि चिनिन सकिन्थ्यो । साथै नेपाली समुदायबीचको एकता आभाष हुन सक्थ्यो । कतारमा स्थापित १ सय २० भन्दा बढी संघ संस्थाहरुले विभिन्न चाडबाडको अवसरमा शुभकामना लगायत विभिन्न सांस्कृतिक कार्यक्रम गर्छन् । नेपाली चलचित्र प्रदर्शन गर्छन् । तथापि दर्शकहरुको उपस्थिति हुँदाहुँदै आयोजक त्यति सन्तुष्ट हुँदैनन् ।
त्यस्तै आउँदै गरेका चाडपर्व विजया दशमी, दिपावली, बकर इद, छठका लागि प्रशस्तै कार्यक्रमहरुको आयोजना रहेको सूचना विभिन्न माध्यममा देख्न सकिन्छ । आशा गरौँ, अबका दिनमा नेपाली संस्कृतिको जगेर्ना, भातृत्वको विकाससँगै एकताको सुत्रमा नेपाली समुदाय बाँधिने छ । प्रवासमै भएपनि गाउँघर, मेलापात, उकाली ओराली र हाम्रो संस्कृति, हाम्रो कला, हाम्रो भेषभुषा र हाम्रो एकताको आभाष गर्न सकिनेछ । सांस्कृतिक कार्यक्रमहरुले मातृभुमिको सम्बर्धन र आफ्नो देशको गौरब राख्न सकुन । प्रवासमा भएपनि चाडपर्वहरुमा अमनचैनको अनुभव गर्न सकियोस् । नेपालका तिता मिठा याद सँगै लाखौ लाख शुभकामना बाढ्न सकियोस । विश्व सामु खाडी मुलुक कतारमा कार्यरत नेपालीहरु रमाएर काम गरिरहेको हेर्न सकियोस ।














प्रतिक्रिया