६ मंसिर २०८३, आइतबार

प्रचण्डको चीन भ्रमणः देउवाका कारण इतिहासमै पहिलोपटक हुनेभयो यस्तो !

50.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ७ दिने चीन भ्रमणका विषयमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।

पर्याप्त तयारी नपुगेको तथा कुनै एजेण्डाविना संक्रमणकालिन समय (वैशाख ३१ गतेको स्थानीय निर्वाचन)मा भ्रमण गर्न लागेको भन्दै आलोचना भइरहेका बेला प्रचण्डले आफ्नो भ्रमण दुई देशबीचको सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण रहने स्पष्ट पारेका छन् ।

इतिहासमै पहिलोपटक हुने भयो यस्तो

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणमा रोचक कुरो त के भने इतिहासमै अहिलेसम्म नभएको व्यवस्था अपनाइएको छ । त्यो पनि सत्ताघटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको एउटा अडानले ।

विषय हो नेपाल प्रहरीको आईजीपी नियुक्ति प्रकरण । जो प्रधानमन्त्रीको चीन भ्रमणसँग पनि जोडिन पुग्यो । यसले भ्रमणको एजेन्डा नै पारित हुन सकेन, इतिहासमै पहिलोपटक मन्त्रिपरिषद्बाट पारित नै नगरी प्रधानमन्त्रीको बिदेश (चीन) भ्रमणको एजेन्डा सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोबिन्द आचार्यले प्राविधिक कारण प्रधानमन्त्रीको चीन भ्रमणको एजेन्डा पारित हुन नसकेको जानकारी दिँदै भने- ‘पछि मन्त्रिपरिषद बैठकले अनुमोदन गर्ने गरी सो एजेन्डा सार्वजनिक गरिएको हो ।’

मंगलबार सर्वाेच्च अदालतले जयबहादुर चन्दलाई आईजीपी बनाउने सरकारको फागुन १ गतेको निर्णय खारेज गरी कार्यसम्पादन मुल्यांकनका आधारमा योग्य व्यक्ति नियुक्त गर्न आदेश दिएलगत्तै बुधबार मन्त्रिपरिषद बैठक आह्वान गरिएको थियो ।

खानेपानीमन्त्री प्रेमबहादुर सिंहका अनुसार उक्त बैठकमा प्रहरीको आईजीपी नियुक्तीदेखि प्रधानमन्त्रीको चीन भ्रमणसहित अन्य नियमित अजेन्डा तय भएको थियो । आईजीपीमा वरियता क्रममा एक नम्बरमा रहेका नवराज सिलवालको नियुक्ति र प्रधानमन्त्रीको चीन भ्रमण एजेण्डा पारित गर्ने तयारी थियो । तर, कांग्रेस सभापति शेरबहादुर देउवाले आईजीपीमा सिलवाललाई अस्वीकार गरेपछि बस्नुअगावै बैठक स्थगित गरियो ।

बुधबार (हिजो) मन्त्रिपरिषद बैठक बिहान १० र साँझ ५ बजे गरी दुई पटक तोकिएको थियो । तर दुबैपटक स्थगित हुन पुग्यो । र, मन्त्रिपरिषद बैठक स्थगित हुँदा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको एजेन्डासमेत पारित हुन सकेन् ।

राजकीय सम्मान नपाउने

यस्तै, चीनले प्रचण्डलाई राजकीय सम्मानका साथ स्वागत नगर्ने भएको छ । भ्रमणको तयारीका लागि पर्याप्त समय नभएको जनाउँदै चीनले प्रधानमन्त्री दाहाललाई राजकीय नभई विशेष आतिथ्यका साथ स्वागत गर्ने भएको काठमाडौंस्थित चिनियाँ राजदूतावासलाई उद्धृत गर्दै परराष्ट्र मन्त्रालय स्रोतले जनायो ।

मन्त्रालयको उच्च स्रोतले दिएको जानकारीका अनुसार प्रधानमन्त्रीको भ्रमणलाई राजकीय रुपमा तयारी गर्न नेपालले ठूलो प्रयत्न गरे पनि चिनियाँ पक्षले उच्चस्तरीय भ्रमणको तयारी गर्न समय पर्याप्त नभएको जवाफ पठाएको छ ।

यस्तो छ सातदिने कार्यक्रम, नयाँ सन्धी सम्झौता नहुने

प्रधानमन्त्री आज राति ११ बजे चीन प्रस्थान गर्दैछन् । बोआओ फोरमको सम्मेलनमा भाग लिन चीन जान लागेका प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ, उपप्रधानमन्त्रीस्तरका नेता झाङ गाओलीलगायतसँग भेटवार्ता गर्ने बताइएको छ ।

दाहालले चैत १२ गते बोआओ सम्मेलनलाई सम्बोधन गर्ने छन् । प्रधानमन्त्री प्रचण्डले चिनियाँ शीर्ष नेता झाङसँग ११ चैतमा हँइनानमा द्विपक्षीय छलफल गर्ने छन् । तर भ्रमणका क्रममा चीनसँग कुनै सम्झौता नहुने बताइएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्रीले बेइजिङ फरेन स्टडिज युनिभर्सिटीमा नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उदघाटनपछि उनले नेपाल-चीन सम्बन्धका विषयमा विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम छ ।

यसपालिको भ्रमणमा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपतिलाई फेरि नेपाल भ्रमणको निम्ता दिनेछन् ।