१४ कार्तिक २०८३, शनिबार

देउवा र ओली लचक भएपछि मोर्चाको प्रस्ताव यसरी अगाडि बढ्दै

5.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । सहमति भयो भने स्थानीय तहको निर्वाचनमा सहभागी भएर आफ्ना उम्मेदवारलाई जिताउने सपना देखिरहेको मधेसी मोर्चामा निरासा छाउन थालेको छ ।

विशेष गरेर सरकार गठनका बेला भएको तीन बुँदे सहमति पूर्णरुपमा कार्यान्वयन हुने अवस्था नदेखेपछि सप्तरी घटनालाई बहाना बनाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएर दवाव सृजना गरिरहेको मोर्चाले नयाँ प्रस्ताव अगाडि सारेको छ । मोर्चाको नयाँ प्रस्तावमा सहमति हुने संकेत देखिएको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

मोर्चाले सीमाङ्कनको विषय तत्कालका लागि थाँती राख्ने हो भने संविधानको धारा २७४ (४) लाई संशोधन गर्न प्रस्ताव राखेको छ । सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले संघीय सीमाङ्कन आयोगलाई ‘फुल पावर’ दिएर जाने हो भने आफूहरु तत्कालका लागि सीमाङ्कनको विषय थाँती राख्न तयार रहेको बताए ।

त्यसका लागि संविधानको धारा २७४ को उपधारा ४ लाई संशोधन गरेर आयोगलाई अधिकार दिन व्यवस्था हुनुपर्ने उनको भनाई छ । यो धारा अनुसार संविधानले आयोगलाई सीमाङ्कन हेरफेर गर्ने अधिकार दिँदैन । सोही कारण मोर्चा सरकारसँग सशंकित हुँदै आएको हो ।

उता, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनको विधेयकलाई पारित गराउन इमान्दारिताका साथ पहल गर्ने सन्देश मधेसी मोर्चालाई दिएका छन् । उनको सन्देशप्रति मधेसी मोर्चाका नेताहरुले सहमति जनाएका छन् । देउवाको प्रस्तावले मधेसी मोर्चा केही हदसम्म लचक पनि भएको छ ।

सरकारमा सहभागी भए पनि राप्रपाका अध्यक्ष कमल थापाले पूर्वसहमतिलाई तोडेको देउवाको आरोप छ । स्रोतले भन्यो,‘कमल थापाले उपप्रधान र स्थानीय विकास मन्त्रालयको जिम्मेवारी लिँदा संशोधन विधेयकलाई समर्थन गर्ने प्रतिवद्धता जनाएका थिए । तर, प्रकाशचन्द्र लोहनीले पार्टी छाडेको भन्दै बहाना बनाएर सीमाङ्कनलाई थाँती राखेर अरु विषय पारित गराउन प्रस्ताव गरेका छन् ।’

देउवाले सीमाङ्कनको कुरा तत्काल थाँती राखेर जाने हो भने मोर्चालाई पनि सेफल्याण्डिङ गर्न सकिने र स्थानीय तहको निर्वाचन समयमा हुन सक्ने उल्लेख गर्दै आएका छन् ।

निर्वाचनप्रति पछिल्ला दिनमा लचकता देखाइरहेका मधेसी मोर्चाका नेताहरुले भित्रभित्रै निर्वाचनको तयारी गर्न आफ्ना जिल्ला नेताहरुलाई गोप्यरुपमा निर्देशन दिइसकेका छन् । यदि थोरै पनि कुरा मिल्यो भने कम्तिमा दुई हप्ता निर्वाचनको मिति सारेर मोर्चालाई साथै लैजाने कांग्रेसको भित्री तयारी छ । यो प्रस्तावमा एमालेका अध्यक्ष केपी ओलीले पनि सकारात्मक संकेत दिएको स्रोतको भनाइ छ ।

बरु स्थानीय निर्वाचनप्रति एमालेले दोहोरो चरित्र देखाएको मोर्चाको आरोप छ । बाहिर भन्दा एमालेले चुनाव गर्नु पर्छ भन्ने तर भित्रभित्रै निर्वाचन विथोल्ने गतिविधि गर्ने कार्यले राजनीतिक सहमति बनाउन समस्या भएको नेताहरुको आरोप छ ।