काठमाडौँ, ९ चैत । चीनले नेपालमा भारतीय हस्तक्षेप भए प्रतिवाद गर्ने चेतावनी दिएको छ ।
चीन सरकारको आधिकारिक धारणा बोल्ने सरकारी पत्रिका ग्लोबल टाइम्सले मंगलबार एक लेख प्रकाशित गरी नेपालसहित दक्षिण एसियाली राष्ट्रहरुमा हस्तक्षेप नगर्न भारतलाई सचेत गराउँदै हस्तक्षेप जारी राखे चीनले त्यसको प्रतिवाद गर्ने जानकारी गराएको हो ।
भारतले दक्षिण एसियालाई आफ्नो आँगन ठान्ने गरेको उल्लेख गर्दै ग्लोबल टाइम्सले लेखमा भनेको छ– ‘यो (दक्षिण एसिया) क्षेत्रमा बेइजिङको बढ्दो प्रभावबारे भारतले असहज महसुस गर्नु स्वभाविक हो । उदाहरणका लागि भारतले आर्थिक र कुटनीतिक रुपमा नियन्त्रण गरिरहेको भुटान र चीनबीच हालसम्म कुटनीतिक सम्बन्ध स्थापना हुन सकेको छैन् ।’
भारतको हस्तक्षेपले चीन र नेपालबीचको सम्बन्धमा पनि असर परेको उल्लेख गर्दै लेखमा अगाडि भनिएको छ– ‘नेपालले दुई ठूला छिमेकीको बीचमा रहेर तटस्थ नीति लिँदा पनि भारतले त्यसलाई बेइजिङ परस्त बनेको भनेर सशंकीत हुने गरेको छ । यो सरासर गलत हो ।’
भारतले चीनको पनि छिमेकी रहेका राष्ट्रहरुलाई समान व्यवहार नगर्ने गरेको उल्लेख गर्दै लेखमा अगाडि भनिएको छ– ‘नयाँ दिल्लीले चीन र छिमेकी राष्ट्रबीच हुने हरेक क्रियाकलापप्रति अति संवदेनशील हुन बन्द गर्नुपर्छ । नेपाल चीनसँग संयुक्त रुपमा परियोजनाहरु अघि बढाउन चाहन्छ । त्यहाँ चिनियाँ लगानी बढ्दै जाँदा बेइजिङले रक्षामा पनि सहकार्य बढाउनेछ, आफ्नो मात्र नभएर यस क्षेत्र (दक्षिण एसिया)कै सुरक्षा चाँसोको लागि ।’
लेखले भारत चीनको विकासको परियोजनाको हिस्सा हुनुपर्नेमा जोड दिँदै राष्ट्रपति सी जिनपिङको ‘वान बेल्ट वान रोड’ परियोनामा जोडिन भनेको छ ।











प्रतिक्रिया