काठमाडौं, ९ चैत । स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा मुलुकको शान्ति सुरक्षा र भावी सुरक्षा रणनीतिका विषयमा छलफल गर्न आज सुरक्षा परिषदको बैठक बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह साढे ३ बजे बस्ने बैठकमा मुलुकको सुरक्षा अवस्थाका विषयमा छलफल हुनेछ ।
स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनमा कहाँ–काहाँबाट कसरी सुरक्षा चुनौती आउन सक्छ भन्ने विषयमा सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी लिने छन् ।
वैशाख ३१ गतेको स्थानीय निर्वाचनको मिति आउन थोरै मात्रै समय रहेका बेला प्रधानमन्त्री दाहालले सुरक्षा अवस्थालाई लिएर परामर्श गर्न लागेका हुन् ।
विशेष गरेर तराईका जिल्लामा मधेसी मोर्चाको आन्दोलनका कारण निर्वाचनमा असर पर्ने हो कि भनेर सरकार चिन्तित छ ।
त्यसै गरी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिष्ट पार्टीले पनि निर्वाचन विथोल्ने चेतावनी दिइसकेको छ । यो पार्टीले निर्वाचन विथोल्न हरसम्भव प्रयास गर्ने जनाइ सकेको छ ।











प्रतिक्रिया