१४ कार्तिक २०८३, शनिबार

देउवाको आग्रहपछि बालुवाटारमा ‘खैलाबैला’, दाहालले देउवाको आग्रह नमान्ने !

11.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । सत्ता साझेदार कांग्रेस सभापति शेरबहादुर देउवाले चीन भ्रमण छोट्याउन वा स्थगित गर्न प्रधानमन्त्री प्रचण्डलाई मंगलबार साँझ आग्रह गरेका छन् ।

आइजिपी नियुक्तिसम्बन्धी सर्वोच्चको फैसला, निर्वाचनका लागि राजनीतिक वातावरण निर्माण, कार्यबाहक प्रधानमन्त्री कसलाई दिने भन्ने विवादलगायतका कारण भ्रमण स्थगित गर्न साँझ टेलिफोनमा देउवाले आग्रह गरेको स्रोतले जनाएको छ । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।

देउवाले एक उपप्रधानमन्त्रीलाई प्रधानमन्त्रीको प्रतिनिधित्व गर्ने गरी बोआओ मञ्चको सम्मेलन र बेइजिङ पठाउन आग्रह गरेकोसमेत उनीनिकट स्रोतले बताएको छ ।

‘पछिल्लो घटनाक्रमबारे निकटस्थहरूसँग छलफल गर्ने क्रममा मंगलबार साँझ सभापतिले प्रधानमन्त्रीज्यूलाई फोन गरेर आग्रह गर्नुभएको हो’,’ देउवानिकट स्रोतले भन्यो ।

तर, यसबारे प्रधानमन्त्री र देउवाको सचिवालयले आधिकारिक जानकारी दिएका छैनन् । परराष्ट्र स्रोतले भने प्रधानमन्त्रीको भ्रमणको तयारी भइरहेको र यसबाहेक अन्य विषयमा जानकारी नआएको जनाएको छ ।

१५ सदस्य भ्रमण दलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ७ दिन लामो चीनको भ्रमणका लागि बिहिबार चीन जाने भएका छन् ।

चीनको हाईनान प्रान्तमा चैत १० देखि १३ सम्म हुने बोआओ फोरममा भाग लिन दाहाल चीन जान लागेका हुन् ।

भ्रमणमा टोलीमा दाहाल पत्नी सीता, पुत्र प्रकाश, दुई सुरक्षा अधिकारी र प्रेस सल्लाहकार गोविन्द आचार्यसँगै रहने छन् ।

परराष्ट्रमन्त्री प्रकाशशरण महत, परराष्ट्र सचिव र अन्य सरकारी अधिकारीहरु पनि दाहालसँगै चीन जानेछन् । परराष्ट्र स्रोतका अनुसार दाहालले मार्च २५ मा बोआओ फोरममा सम्बोधन गर्नेछन् र २६ तारिखमा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भेटका लागि बेइजिङ जानेछन् ।

दाहाल २८ तारिखमा तिब्बतको ल्हासामा एक रात बिताएर २९ तारिखमा स्वदेश फर्किने कार्यक्रम छ ।