६ मंसिर २०८३, आइतबार

माओवादी केन्द्रको बैठकमा प्रचण्डले भने- एमाले तयार छ, मोर्चासँग कुरा भइरहेको छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनका विषयमा केही विषयलाई थाँती राखेर सहमति खोज्ने प्रयास भइरहेको बताएका छन् ।

सिंहदरबारमा मंगलबार बिहान बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री दाहालले सीमाङ्कनको विषयलाई तत्कालका लागि स्थगित गरेर सहमतिको प्रयास भइरहेको बताएका हुन् । ‘एमाले पनि सीमाङ्कनको कुरालाई स्थगित गरेर बाँकी रहेका विषयमा संविधान संशोधनमा लचकता देखिएको छ’, प्रधानमन्त्री दाहालको भनाइ उदृत गर्दै सांसद रेखा शर्माले भनिन्, ‘यस विषयमा मधेसी मोर्चासँग कुरा गरेर एउटा निकास निकाल्ने प्रयास भइरहेको छ । मधेसी मोर्चालाई सहमतिमा ल्याउन पहल भइरहेको छ ।’

मधेसी मोर्चाले स्थानीय तहको निर्वाचनमा सहभागी हुने प्रतिवद्धता जनाए संविधान संशोधनलाई अगाडि बढाउने दाहालको भनाइ थियो । उनले आफ्नो चीन भ्रमण अगाडि संविधान संशोधन, अत्यावसेक विधेयक पारित गरेर सदन स्थगित गर्ने सोँचमा रहेको पनि आफ्ना सांसदहरूलाई सुनाएका थिए ।

प्रधानमन्त्री दाहालले सीमाङ्कनको विषयलाई केन्द्र र प्रदेशको चुनाव अगाडि टुङ्ग्याउने गरेर आफूले राखेको प्रस्तावमा एमाले लचक भए पनि मधेसी मोर्चाले नमानेको उल्लेख गरेका थिए । तर, सो विषयमा पनि मधेसी मोर्चासँग सहमति गरेर स्थानीय तहको निर्वाचन तोकिएको समयमा गर्ने दाहालको भनाइ थियो ।

संसदीय दलको बैठकमा दाहालले स्थानीय तहको निर्वाचनको तयारी थाल्न पनि दिर्नेशन दिएका थिए । बैठकमा निर्वाचनको तयारीका विषयमा सात प्रदेशका तर्फबाट रिपोर्टिङ भएको सांसद शर्माले बताइन् ।

माओवादी केन्द्रको संसदीय दलको बैठक पर्सी ८ गते बिहान पुनः बस्ने गरेर स्थगित भएको छ ।