१ कार्तिक २०८३, आइतबार

मधेसी मोर्चालाई तह लगाउन तराईमा ‘मधेसी फोर्स’ निर्माण गर्ने महेश बस्नेतको घोषणा

13.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । नेकपा (एमाले)का युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेतले तराईमा मधेस फोर्स निर्माण गर्ने घोषणा गरेका छन् ।

आइतबार ओखलढुंगा-काठमाडौँ सम्पर्क मञ्चले राजधानीमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले निधेषको राजनीति गर्ने मधेसवादी दललाई सबक सिकाउन मधेस फोर्स निर्माण गर्ने चेतावनी दिए ।

‘हिजो युथ फोर्स बनाएर उग्रवामपन्थीलाई ठेगान लगायौँ,’ बस्नेतले भने, ‘अहिले दक्षिणपन्थीहरु धेरै चलमलाएका छन् । उनीहरुलाई ठेगान लगाउन त्यस्तै अर्को फोर्स गठन गर्नुपर्ने भएको छ ।’

उनले मधेसी मोर्चाले तराईमा एमालेलाई प्रवेश नै गर्न नदिने भनेर धम्की लगाएको भन्दै उनीहरुको त्यो धम्कीलाई फिका बनाएर मेची–महाकाली राष्ट्रिय अभियान धुमधामसँग पूरा गरेको जानकारी दिए । उनले प्रदेश नम्बर दुईमा पनि एमालेले वृहत कार्यक्रम लिएर छिट्टै जाने बताए । ‘मधेसी मोर्चाका नाममा अहिले तराई–मधेसमा वितण्डा मच्याउने प्रयास भैरहेको छ,’ उनले भने, ‘उनीहरुलाई ठेगानमा ल्याउन मधेसमा एमालेले ‘मधेसी फोर्स’ बनाउँछ ।’

उनले दक्षिणपन्थीलाई तह नलगाएसम्म मुलुकको स्थायीत्व सम्भव नभएको भन्दै पहिला एमाले र माओवादी मान्छे र बनमान्छे जस्ता भएको स्मरण गर्दै भने– ‘माओवादी पहिला बनमान्छे जस्तै थियो अहिले अलिक सुध्रिएको छ अब मधेसी मोर्चालाई पनि सुधार गर्नुपर्ने आवश्यकता भएको छ ।’

कार्यक्रममा माओवादी केन्द्रको जिल्ला तहमा विभिन्न जिम्मेवारीमा रहेर काम गरेका ५० बढी एमालेमा प्रवेश गरेका थिए ।