२९ आश्विन २०८३, बिहिबार

एमाले उपाध्यक्ष रावल भन्छन्, ‘खस क्षेत्री चाँहि आदिवासी किन नहुने ?’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhim-Rawal

काठमाडौं, ९ असोज । नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले राष्ट्रिय एकता, अखण्डता र संस्कृति संरक्षण गर्न खस क्षत्रीको अभियान हुनुपर्ने बताउनुभएको छ ।

संयुक्त खस क्षत्री एकीकरण समन्वय समितिले बिहीबार आयोजना गरेको ‘नयाँ संविधानमा खस क्षत्री समुदायको पहिचान र अधिकारका विषयमा सभासद्सँग छलफल’ कार्यक्रममा उहाँले क्षत्रीको अभियानले नेपालको प्राकृतिक स्रोत साधन, राष्ट्रिय अखण्डता र समग्र देशको संरक्षण गर्ने कामका लागि आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।

सभासद् रावलले भन्नुभयो, “टुक्राटुक्रा भएको देशलाई एकीकरण गरेर सिङ्गो नेपाल बनाउने क्षत्री चाहिँ आदिवासी नहुने तर दुई सय वर्षको इतिहास पनि नभएका जाति कसरी आदिवासी भए, यो खोजीको विषय हो ।”

एमाओवादी नेता तथा सभासद् टोपबहादुर रायमाझीले नेपालको राष्ट्रिय अखण्डताको संरक्षण गर्न क्षत्रीको जति योगदान अन्य कुनै पनि जातिको नभएको बताउँदै क्षेत्रीहरूलाई एकताबद्ध हुन आग्रह गर्नुभयो ।

नेपाली काँग्रेसका सभासद् राजन केसीले क्षत्री जातिले नेपालको एकीकरण र संरक्षण गर्न महत्वपूर्ण योगदान पु¥याएको हुनाले तिनलाई संविधानमा अन्य जातिभित्र राख्न हुँदैन भन्नुभयो ।

कार्यक्रममा नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्का, सभासद् मोहन बानियाँ, अमर थापा, विक्रमबहादुर थापालगायतले क्षत्री नेपालका आदिवासी नै भएकाले उनीहरूलाई संविधानमा अन्य जातिमा नराखी आदिवासीमा राख्नुपर्नेमा माग गर्नुभयो ।

समितिका सहसंयोजक रामकुमार क्षेत्रीले खस क्षत्री समुदायको भाषा, वेशभूषा, रीतिरिवाज, कला,संस्कृति, सभ्यता एवम् जीवनसँग सम्बन्धित हरेक पक्षको सामग्रीको सङ्ग्रह र प्रदर्शन गर्ने सङ्ग्रहालय र आदिवासी खस क्षत्री राष्ट्रिय प्रतिष्ठान स्थापना गर्नुपर्ने माग गर्नुभयो ।

समितिका संयोजक मानबहादुर थापाले उपस्थित सबै पार्टीका सभासद्लाई खस क्षत्री समुदायको मागका विषयमा ज्ञापनपत्र प्रस्तुत गर्नुभएको थियो । ज्ञापनपत्रमा जानजाति उत्थान राष्ट्रिय ऐन २०५८ खारेज गरी पुनः आदिवासी / जनजातिबीचको परिभाषा गरेर कानुन बनाउनुपर्ने, सङ्घीय राज्यको नामकरण गर्दा राष्ट्रिय अखण्डतामा आँच नपुग्ने गरी राख्नुपर्नेलगायत माग छन् ।