२९ आश्विन २०८३, बिहिबार

अमेरिकाबासी नेपालीलाई प्रधानमन्त्रीको आग्रह–नेपालमै लगानीको वातावरण बनेको छ, स्वदेश फर्किनुहोस्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Kira

संयुक्त राज्य अमेरिका, ९ असोज । प्रधानमन्त्री सुशील कोइरालाले नेपालमा नै लगानीको वातावरण बनेको भन्दै अमेरिकाबासी नेपालीलाई स्वदेश फर्किन आग्रह गर्नुभएको छ ।

नेपालका विभिन्न भागमा आएको पहिरो र बाढी पीडितहरुका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग हस्तान्तरण गर्न आएका अमेरिका निवासी नेपालीहरुसँगको भेटमा प्रधानमन्त्री कोइरालाले यस्तो बताउनुभएको हो ।

बुधबार साँझ प्रधानमन्त्री कोइराला बस्नुभएको न्यूयोर्कको पार्क एभेन्यु ग्राण्ड सेन्ट्रलस्थित होटल ग्राण्ड ह्यातमा जनसम्पर्क समिति शिकागोका अध्यक्ष भोजराज घिमिरेले प्रधानमन्त्री कोइरालालाई ३ हजार ८ सय ३४ अमेरिकी डलर हस्तान्तरण गर्नुभएको थियो ।

प्रधानमन्त्रीले सो रकम प्रधानमन्त्री राहतको कोषको खातामा तुरुन्त जम्मा गर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री कोइरालाले सो अवसरमा अमेरिकामा रहेका नेपाली समुदायको अवस्थाको बारेमा पनि जानकारी लिनुभएको थियो ।

गैर आवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष खगेन्द्र जिसीका अनुसार अहिले अमेरिकामा करिब ३ लाख नेपाली बसोबास गरिरहेका छन ।

प्रधानमन्त्री कोइरालाले नेपालमा नै लगानीको वातावरण बनेको भन्दै अमेरिकाको कार्य संस्कृति सिकेका, उपयोगी सीप भएका, प्रशिक्षित, उच्च शिक्षा लिएका जनशक्तिलाई स्वदेश फर्केर देशको समुन्नतिमा लाग्न आग्रह गर्नुभएको थियो ।

उहाँले हरेक मुलुकको विकास त्यही देशका नागरिककै प्रयासले संभव भएको पनि अमेरिकाबासी नेपाललीलाई स्मरण गराउनु भएको थियो ।

उहाँले संविधान निर्माणका सन्दर्भमा पनि उल्लेख्य प्रगति भैरहेको बताउनुभयो । उहाँले संविधानसभा बाहिर रहेका दलहरुको विचारलाई समेत समेट्नकालागि सरकार र संविधान सभाको राजनीतिक संवाद समितिले भरमग्दूर प्रयास गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, संविधान समयमा बन्छ । तपाँइहरु ढुक्क हुनुहोस ।

प्रधानमन्त्री कोइरालाले भारतसंग हालै सम्पन्न भएको विद्युत व्यापार संझौताले जलविद्युतमा लगानीको ढोका खोलेको पनि बताउनुभयो । उहाँले भारतको जीएमआर कम्पनीसंग भएको परियोजना विकास संझौताले लगानीमा नेपालको विश्वसनीयता अभिबृद्धि गरेको पनि बताउनुभयो । उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण अत्यन्त फलदायी भएको बताउनुभयो ।

मोदीले नेपालमा जन्मनु भएका गौतम बुद्धको शान्ति र अहिंसाको सन्देश फैलाउदै नेपालसंगको सम्बन्धलाई सुमधुर बनाएर शान्ति, स्थायित्व, लोकतन्त्र र विकासप्रतिको नेपालको चाहनालाई साकार बनाउन ठूलो सहयोग गरिरहनु भएको पनि उहाँले बताउनुुभयो ।

भेटका अवसरमा अमेरिकामा रहेका नेपालीहरुले पर्यटनको व्यवस्थित विकास गर्न सके नेपालको विकास हुन धेरै वर्ष नलाग्ने बताउनु भएको थियो । प्रत्युत्तरमा प्रधानमन्त्री कोइरालाले ८–१० बर्षमा नेपालले विकासमा फड्को हान्ने बताउदै आफू भविष्यप्रति अति आशावादी भएको बताउनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा गैर आवासीय नेपाली संघ, अमेरिकाका अध्यक्ष खगेन्द्र जिसी, नेपाली जनसम्पर्क समिति अमेरिकाका संयोजक विष्णु सुवेदी, जनसम्पर्क समिति शिकागोका सल्लाहकार डा.यादव पण्डित, लालप्रसाद काफ्ले, सुमन वस्ती,मोहन पौडेल लगायतका प्रवासी नेपालीहरुको उपस्थिति थियो ।

भेटका अवसरमा प्रधानमन्त्री कोइरालाले नेपाली जनसम्पर्क समितिको निर्वाचन छिटो गरी संगठनको संस्थागत विकासमा योगदान गर्न पनि आग्रह गर्नुभएको थियो ।

उहाँले भन्नुभयो, मरेर जाने व्यक्तिमुखी हैन, संस्थामुखी बन्नुहोस । अनिमात्र संगठन दह्रो हुन्छ । संस्थागत विकास हुन्छ ।