२८ आश्विन २०८३, बुधबार

रुघाको औषधि तस्करी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rughaकाठमाडौं, ९ असोज । ‘पार्टी ड्रग्स’ भनेर चिनिने मेथाफेडामाइन (आइस ड्रग्स) बनाउन नेपालमा उत्पादित रुघाको औषधि तस्करी भइरहेको पाइएको छ। लागुऔषधिका कारोबारीले चिसो लागेका बिरामीलाई दिइने औषधिमा हुने स्युडोफ्रिडिन निकाल्न नेपालमा उत्पादन हुने ट्रिडिनलगायतको तस्करी गरिरहेको नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरोको अनुसन्धानमा खुलेको हो।

नेपाली औषधि उत्पादकले चिसो लागेका बिरामीका लागि चलाइने औषधि बनाउन स्युडोफ्रिडिन आयात गर्ने गरेका छन्। रुघा, एलर्जी र दमविरुद्ध दिइने यस्ता औषधिमा प्यारासिटामोलसँगै स्युडोफ्रिडिनको मात्रा झन्डै आधा हुन्छ।

तस्करले यस्ता औषधिका चक्कीबाट स्युडोफ्रिडिन सहजै अलग पारेर आइस ड्रग्स बनाउन प्रयोग गर्छन्।

‘नेपालमा स्युडोफ्रिडिन प्रयोग गरेर औषधि बन्छजस्तो लागेको थिएन,’ औषधिसम्बन्धी जानकार एवं नेपाल फर्मास्युटिकल्स एसोसिएसनका महासचिव विवेकसिंह महतले भने, ‘लागुऔषध नियन्त्रण ब्युरोले यस्तो प्रकृतिको तत्व लागुऔषधिमा उपयोग भएको आशंका गरेपछि अनुसन्धान गर्दा नेपालमा स्युडोफ्रिडिन प्रयोगमा रहेको भेटियो।’

गत वर्ष पर्यटक भिसामा नेपाल आएका तीन चिनियाँका गतिविधिबाट प्रहरीले आइस्ड ड्रग्सका लागि स्युडोफ्रिडिन संकलन गर्न तस्करले यहाँ उत्पादित औषधि चीन लैजाने गरेको खुलेको थियो।

गत कात्तिक ६ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले १५ किलो ट्रिडिन बोकेर हवाइमार्ग हुँदै चीन जाने क्रममा रहेका याङ चेङक्वेन, याङ मुच्याङ र जेङ सु मिङलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो। उनीहरूका साथबाट २४ प्याकेट ट्रिडिन चक्की बरामद भएको थियो।

सिआइबीले लागुऔषध नियन्त्रण ब्युरोलाई समेत साथ लिएर उक्त घटना अनुसन्धान गरेको थियो।

‘ठूलो मात्राको औषधि किन चीन लैजाने प्रयास भयो भन्ने पाटो केलाउँदा उनीहरूले स्युडोफ्रिडिनका लागि यस्तो गरेको खुल्यो,’ ब्युरोका एसएसपी रणबहादुर चन्दले भने, ‘मुद्दा अदालतसम्म पुग्दा उनीहरू धरौटीमा छुटे।’

गत वर्ष नै काभ्रे दोलालघाटमा यस्तै लागुऔषधसहित चिनियाँ पक्राउ परे पनि कुन प्रक्रियाबाट कारबाही अघि बढाउने भन्नेमा प्रहरी अलमलिँदा तिनीहरूले उन्मुक्ति पाएका थिए।

ब्युरो अधिकारीका अनुसार नेपालमा पनि आइस्ड ड्रग्स फेला परिसकेको छ, तर यहीँको उत्पादन हो या विदेशबाट ल्याइएको भन्ने यकिन हुन सकेको छैन।