३० आश्विन २०८३, शुक्रबार

शरीरमा हाड र छाला मात्र, बचाउने प्रयासमा छौं

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ganga-Maya-Adhikariकाठमाडौं, ८ असोज । वीर अस्पतालको पुरानो आइसीयु कक्षको बेड नम्बर १८ मा पुग्दा गोरखाकी गंगामाया अधिकारी बेडमा लडिरहेकी थिइन् ।

११ महिनादेखि अन्नपानी नखाइ अनसन बसेकी ५३ वर्षीया गंगामायाको शरीरमा हाड र छाला मात्र बाँकी छ ।  शरीरमा चोली अडिने समेत ठाउँ थिएन । पहेलो शरीर, सेतै फुलेको कपाल र वर्ष दिन देखि नकाटेका हात खुट्टाका नङ उनैलाई बोझ भइरहेको होला भन्ने भान हुन्थ्यो ।

सोमबार मृत्यु भएका पति नन्दप्रसादको शोकमा डुबेकी उनलाई मानव अधिकारकर्मीर्हरुले पानी खुवाउने प्रयास गरिरहेका थिए । उनलाई खुवाउन अझैपनि सहज थिएन ।

नबुझिने आवाजमा उनी पानीको गिलास धकेल्दै चिच्याइरहेकी थिइन् । पति नन्दलालसँगै ३ सय ३५ दिन देखि वीर अस्पतालमा अनसन बसिरहेकी छिन् । १७ वर्षे छोरा कृष्णप्रसादलाई  ०६१ सालमा माओवादीले अपहरण गरी हत्या गरेको घटनाका दोषीलाई कारवाहीको माग गर्दै गोरखा फुजेलका यी दम्पत्ती अनसन बसेका थिए ।

अस्पतालको बेड नम्बर १७ र १८ मा झण्डै वर्षदिनदेखि अनसन बसिरहेका यी दम्पत्तीको हेरचाह गर्ने कोही छैन । यसै बिचमा सोमबार नन्दप्रसादको मृत्यु भएको हो ।

मृतक नन्दप्रसादको शव बुझ्न समेत कोही आफन्त र परिवारजन नआएको भन्दै सरकारले शव बुझिदिन आग्रह गरिरहेको छ । अधिकारी दम्पत्तीका जेठा छोरा नुरप्रसाद  बाबुको शव नबुझ्ने भन्दै पन्छिएका छन् ।

‘मृत्यु भइसकेको व्यक्तिको विषयमा विवाद गर्नुभन्दा हामीले गंगामायाको जीवन रक्षा गर्नु आवश्यक छ,’ वीर अस्पतालमा गंगामायालाई अनसन तोडाउने प्रयास गरिरहेका प्रधानमन्त्री कार्यालयका उपसचिब बिनोद गौतमले भने, ‘यसका लागि निरन्तर प्रयत्न गरिरहेका छौं ।’

उनका अनुसार नन्दप्रसादको मृत्यु हुनु अघि श्रीमानको दवावका कारण गंगामायाले खाना खान मानेकी थिइनन् । त्यसताका हामीले छुट्टाछुट्टै अस्पतालमा राखेर उपचार गराउने प्रयास गरेका थियौं । ‘गंगामायाले म बा बाट छुटिएर बस्दिन भनेकाले बेग्लै राखेर उपचार गर्न सकिएन; उनले भने, ‘अब उहाँको उपचार गर्न र खाना खुवाउन केही सहज होला कि ।’

गंगामायाको जीवन रक्षा गर्न र न्याय दिलाउन सरकारले सक्दो प्रयास गरिरहेको उनले जानकारी दिए । श्रीमान अन्तिम अवस्थामा पुगेका बेला उनी आफ्नो बेडबाट तल झरी  श्रीमानको बेडसम्म पुगेर सुम्सुम्याएकी थिइन् रे ।

उपसचिब गौतमका अनुसार सरकारका तर्फबाट ०७० चैत ३० मा ज्यानमार्ने अभियोगमा मुद्धा दर्ता गरिएको समाचार आजको कान्तिपुले लेखेको छ । अदालतमा बिचाराधिन मुद्धामा सरकारले केही गर्न नसक्ने अवस्था छ ।

प्रहरीको अनुसन्धान बाट पत्ता लागेका रुद्र आचार्य भन्ने अभियुक्त बेलायतमा बसेको पत्ता लागेपनि बेलायतसंग नेपालको सुपुर्दगी सन्धि नभएका कारण बेलायत  रुद्र आचार्यलाई फर्काउन वाध्य छैन । क्षेत्रधिकार भन्दा बाहिरको विषय भएकाले पनि रुद्र आचार्यलाई नेपाल झिकाउन नसकिएको हो ।