सानै उमेरदेखि राजनीतिमा लागेर करिव आठ दशकसम्म लगातार उत्तिकै सक्रिय भएर राजनीतिमा टिकीराख्नु असाधारण कुरा हो । जुनकाम कमरेड सहाना प्रधानले आफ्नो जीवनमा सम्भव गरेर खेदाइदिनु भयो । आजको पुस्ताका लागि स्वच्छ, नौतिक र निरन्तरता सम्बन्धि अनगिन्ती चुनौतिहरु छोडेर उहाँ आज विदा हुनुभयो ।
सत्ताका थुप्रै अवसरहरुमा बसेर पनि मध्यम बर्गकै अबस्थामा कायम रहेर उहाँले गलत मान्यता र शक्तिको दुरुपयोग गर्ने राजनीतिको प्रचलनमाथि पनि विजयप्राप्त गर्नुभयो । जुन हाम्रा लागि थप चुनौति हो । भूमिगत, वा निर्वासन वा खुल्ला राजनीतिको काल सबै समय उहाँले अभावकै जीवन विताउनुभयो । तर पनि कहिल्यै पश्चाताप गरेको हामीले सुनेनौं ।
हामी अखिलमा काम गरिरहेको वेलामा भएको एक कर्यक्रममा उहाँले आफ्ना अनुभव सुनाउँदै भन्नु भएको थियो । २००४ साल तिरको कुरा हो एक दिन हामी (सहाना प्रधान, साधन प्रधान, मंगलादेवी सिंह, अंगुरबाबा जोशीको अगुवाईमा) केटीहरु श्री ३ पद्म शंसेरको दरवारमा केटीहरुले पनि पढ्न पाउनु पर्छ भन्ने नारा लगाउँदै गएका थियौं । त्यसवखत पद्म शंसेर दरबारको बरन्डामा निस्केर भनेका थिए रे- ‘ए केटी हो किन नारा लगाउँदै आएका ? मर्ने डर छैन कि के हो ?’
अनि उहाँहरुले भन्नुभएछ हामीले पनि पढ्न पाउनु पर्यो महाराज ? त्यसपछि उनले भनेछन् – ‘ल–ल केटी हो पोईला चैं नजानु !’ अब तिमीहरुले पनि पढ्न पाउँछौ ल जाओ । अनि नेपालमा महिलाले पनि स्कूल जाने प्रचलन शुरु भयो । यो कमरेड सहानाको नेतृत्वमा भएको सामाजिक क्रान्ति नै थियो ।
आफ्ना श्रीमान पुष्पलाल पूर्णकलीन राजनीतिज्ञका रुपमा निर्वासित जीवन विताईरहेको अवस्थामा २०३२ सालमा राजनीति गरेको आरोप लागाउँदै विश्वविद्यालयले उहाँलाई अध्यापन पेशावाट बर्खास्त गरिदियो । जुनवेला वहाँको परिवारलाई हातमुख जोड्न नै समस्या परेको थियो तर पनि वहाँ विचलित हुनुभएन र जीवनमा संघर्ष गरेर नै आफूलाई स्थापित गर्नुभयो । एकातिर जीवन र समाजका हरेक क्षेत्रमा महिलाहरु पछि परेको अवस्थामा महिलाको मात्र हैन समग्र राजनीतिको नै नेतृत्व गरेर २०४६ सालमा वाममोर्चाको अध्यक्ष भई नेपाली काँग्रेससंग संयुक्त मोर्चा निर्माण गरेर प्रजातन्त्रको स्थापनाको क्रान्तिको अगुवाई गर्नु कमरेड सहाना प्रधानको जीवनको सबैभन्दा उत्कर्ष क्षण थियो । यदी युरोप वा अमेरिकामा जन्मिएर यो काम गरेको भए उहाँका कति फिल्महरु बन्थे, उहाँका बारेमा कति किताव लेखिन्थे !
उहाँको अद्भुत नेतृत्व क्षमता मैले नेकपा (एमाले) को पाँचौं महाधिवेशनको वेलामा देखेको छु । जतिवेला मदन भण्डारीले प्रस्तुत गरेको जनताको बहुदलीय जनबाद र सीपी मैनालीले प्रस्तुत गरेको प्रस्तावका बीचमा तिव्र मतान्तर थियो र हलको परिस्थिति उत्तेजनात्मक अबस्थामा थियो । मनमोहन अधिकारी, सीपी मैनाली, झलनाथ खनाल जस्ता बरिष्ठ नेताहरु महाधिवेशनको हल छोडेर जान खोजिरहनु भएको थियो । त्यो शेसनको अध्यक्षता कमरेड सहान प्रधानले गर्नु भएको थियो । त्यो चुनौतिपूर्ण शत्रलाई उहाँले कुशलतापुर्वक सञ्चालन गर्नुभयो । नाताले उहाँका भिनाजु मनमोहन अधिकारी र सर्वाधिक लोकप्रिय र हलमा बलियो समर्थन भएका मदन भण्डारीलाई सहज ढंगले नियन्त्रण गर्दै उहाँले नेकपा (एमाले) लाई विभाजित हुनबाट जोगाउनु भयो ।
उहाँ रमाईलो र रसिक पनि हुनुहुन्थ्यो । म अखिलको अध्यक्ष भएको वेलाको एक कार्यक्रममा उहाँले हाम्रा महिला कार्यकर्तालाई आफ्ना अनुभव बारे बताउनु भएको थियो । त्यो वेला वहाँले भन्नुभयो- ‘हेर नानी हो ! जे गर्ने हो जवानीमै गर्नुपर्छ । स्विट सिस्टीन (सोह्र बर्षे जवानी) जीवनको सबैभन्दा रोमाञ्चक अवस्था हो । लभ गर्नु, घुम्न जानु, फिल्म हेर्न जानु । यसोभन्दा हाम्रा महिला साथीहरु लजाएका थिए तर उहाँले सहज रुपमा त्यो कुरा बताईरहनु भएको थियो ।
पहिले–पहिले राजनीति गर्दा आफूभन्दा ठूला नेताहरुले मातहतका कार्यकर्ताको घर, व्यवहार, परिवार, सुख–दुःखका बारेमा सोध्ने र सकेसम्मको सहयोग गर्ने चलन हुन्थ्यो । जब राजनीति बिग्रदै गयो यस्ता कुरा हुनै छोडे । तर कमरेड सहाना प्रधान कहिले काहीँ हाम्रो घरपरिवारका बारेमा सोधिखोजी गर्नु हुन्थ्यो । उहाँले हामीले दिन त के नै पो सक्नुहुन्थ्यो र ? तर वहाँको त्यो सोधाईले न्यानो अविभावकत्वको अनुभुति महशुस हुन्थ्यो ।
बाँच्नका लागि जसरी उहाँले कठोर संघर्ष गर्नु भयो । मृत्यु पनि उहाँका लागि ज्यादै कस्टकर बन्न पुग्यो । करिव चारबर्ष जसरी उहाँले समय काट्नु भयो । त्यो अत्यासलाग्दो र अकल्पनीय थियो । हाम्रा अगाडि धेरै स्मरणहरु छोडेर र थुप्रै चुनौतिहरु हामीलाई सुम्पेर उहाँ विदा हुनुभयो । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली !
०७१ असोज ७ गते














प्रतिक्रिया