१४ कार्तिक २०८३, शनिबार

नेपालमा पनि आवश्यक छ ड्रोनको प्रयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २ चैत । अन्य मुलुकमा जस्तै नेपालको पनि कृषि, पूर्वाधार विकास, भौगर्भिक नक्सा निर्माण, ट्राफिक व्यवस्थापन, सामान ढुवानी, सुरक्षा निगरानी, विपद्का समयमा खोजी तथा उद्धारजस्ता दर्जनौँ प्रयोगका लागि ड्रोनको प्रयोग हुनसक्ने त्यस क्षेत्रका विज्ञहरूले बताउनुभएको छ ।

नेपालजस्तो जटिल भूबनावट भएको क्षेत्रमा ड्रोनको उपयोगिता अझ बढी हुने त्यस क्षेत्रमा कार्यरतहरूको दाबी छ । ड्रोनको प्रयोगबाट कुनै पनि क्षेत्रको कामलाई गति दिन र कम जनशक्तिबाट थोरै समयमा धेरै काम गर्न सकिने उहाँहरूले बताउनुभयो । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

ड्रोन क्लोज सर्किट टीभी (सीसीटीभी) सहितको उड्ने यन्त्र हो । यसमा निश्चित दूरीसम्म उड्नसक्ने, तस्बिर खिच्ने, मेसिन कहाँ छ भन्ने जानकारी दिनसक्ने प्रविधि जडान गरिएको हुन्छ ।

यस्ता ड्रोनहरू विशेष गरी दुई प्रकारका हुन्छन् । एउटा फिक्स्ड विङ्स भएको, अर्को रोटरी विङ्स सहितको ।

फिक्स्ड विङ्स भएका ड्रोन विशेष गरी ठूलो क्षेत्रफलको नापनक्साका लागि प्रयोग हुने गरेको छ भने रोटरी विङ्स भएका ड्रोन सामान ढुवानी गर्न र भिडियोग्राफीका लागि प्रयोग हुने
गरेका छन् ।

तर नेपालमा ड्रोनका बारेमा पर्याप्त जानकारी नहुँदा ड्रोन सञ्चालनका लागि विभिन्न निकायसँग अनुमति लिनुपर्ने कारणले यसबाट लिनसक्ने जति फाइदा लिन नसकिरहेको उहाँहरूको गुनासो छ ।

चीनले कृषि क्षेत्रमा ड्रोनको प्रयोग थालेको छ । भारतले रेलमार्ग निर्माणमा सर्भे गर्नेदेखि हुँदै गरेका कामको निगरानी गर्नेसम्मको कामका लागि ड्रोनको प्रयोग गर्न थालेको छ । अन्य कतिपय देशले ट्याक्सीकै रूपमा पनि ड्रोनको प्रयोग गर्न थालेको विज्ञहरूले बताउनुभयो ।

तर नेपालमा भने ड्रोनबारे पर्याप्त जानकारी नहुँदा ड्रोनहरू खासै प्रयोगमा आउन सकेका छैनन् ।

भर्खर भर्खरमात्र समाजको व्यापक हितका लागि ड्रोनको सकारात्मक प्रयोग हुनसक्छ, त्यसको व्यावसायिक सम्भावन पनि रहेको छ भन्ने सन्देश दिनका लागि विभिन्न परीक्षण थालेको नेपाल फ्लाई ल्याबका सहसंयोजक तथा बी रोबोर्टिकका नेपाल प्रतिनिधि उत्तम पुडासैनीले बताउनुभयो ।