काठमाडौं, १ चैत । सैनिक अदालतले सर्वोच्च अदालतलाई लिखित जबाफ पठाउँदै सेनाको कानूनी कारबाहीका विषयमा ‘असाधारण अधिकार क्षेत्र’ को प्रयोगमार्फत हस्तक्षेप नगर्न माग गरेको छ ।
सेनाको अनुशासनमा असर पर्ने गरी ‘स्वेच्छाचारी’ निर्णय भएको भन्दै सैनिक विशेष अदालतविरुद्ध नेपाली सेनाको जंगीअड्डाले सर्वोच्चमा दायर गरेको एक रिटमा यस्तो माग पेस भएको हो । अन्नपूर्णपोष्ट दैनिकले समाचार छापेको छ ।
सर्वोच्चले सैनिक अदालतको अधिकार क्षेत्रमा प्रवेश गरी रिटमार्फत सुनुवाइ गर्ने हो भने मुद्दाको अन्त्य कहिल्यै नहुने भनाइसमेत जबाफमा छ ।
सैनिक अधिकृतले नक्कली प्रमाणपत्र र झूटा विवरण पेस गरेको एक मुद्दामा संविधान र सैनिक कानुनको दायराबाहिर गई निर्णय दिएको आरोपसहित सेना आफ्नै अदालतविरुद्ध रिट लिएर सर्वोच्च पुगेको थियो । आफ्नै अदालतविरुद्ध सेना पहिलोपल्ट रिट लिएर सर्वोच्च पुगेको हो । रिटमा सर्वोच्चको मागअनुरूप सैनिक अदालतले जबाफ दिएको हो ।
अत्यन्त संवेदनशील मानिने सेनाको ‘नेसनल सेक्युरिटी वार कोर्स’ तालिममा छनोट हुन सेनाका तत्कालीन सहायक रथि हेम खत्रीले भारतको मगध विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र पेस गरेको तथा सिफारिसकर्ता विभागीय प्रमुखविरुद्ध चलेको मुद्दामा सैनिक अदालतले सेनाको अनुशासनमा असर पुग्ने गरी निर्णय दिएको जंगीअड्डाको दाबी थियो ।
उक्त विवादमा सुनुवाइपछि प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले गत मंसिरमा सैनिक विशेष अदालतसँग कारणसहित जबाफ पेस गर्न आदेश दिएको थियो । सैनिक विशेष अदालतका तर्फबाट रजिस्ट्रार रहेका प्रा।डा। महासेनानी जीवन दाहालले जबाफ पठाएका छन् ।
‘प्रचलित कानुनबमोजिम तोकिएको प्रक्रिया अवलम्बन गरी प्रमाणको यथोचित मूल्यांकन गरी तहतह फैसला भई अन्तिम भएर रहेको मुद्दाका सम्बन्धमा असाधारण अधिकार क्षेत्रको प्रयोग गरी अदालत प्रवेश गर्न मिल्ने होइन’, जबाफमा लेखिएको छ, ‘पुनरावेदनको रोहमा क्षेत्राधिकारप्राप्त सैनिक विशेष अदालतबाट न्यायपूर्ण, पारदर्शी र कानुनसंगत रूपमा उचित आधार र कारण खुलाई अन्तिम फैसला भएको विषयलाई लिएर असाधारण अधिकार क्षेत्रबाट अदालतमा प्रवेश गर्ने हो भने मुद्दाको अन्त्य कहिल्यै हुँदैन ।’












प्रतिक्रिया