धनगढी, ३० फागुन । भारतीय सुरक्षाकर्र्मीले गोली हानी हत्या गरेका कञ्चनपुर पुनर्वासका गोविन्द गौतमको राष्ट्रिय सम्मानसाथ आइतबार अन्त्येष्टि गरिएको छ । कञ्चनपुरको दोदा नदीकिनारमा गौतमको पार्थिव शरीरमा उनका ७२ वर्षीय पिता खेमलालले दागबत्ती दिए ।
सरकारी निर्णयअनुसार आइतबार पौने १ बजे गौतमको सेती अञ्चल अस्पतालबाटै राष्ट्रिय सम्मानका साथ दस किलोमिटर लामो शवयात्रा सुरु भएको थियो । भारतविरुद्ध चर्का नाराबाजीसहित अघि बढेको १० किलोमिटर लामो शवयात्रामा कैलाली-कञ्चनपुरका दसौं हजार सर्वसाधारण सहभागी भएका थिए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
धनगढी बजारभरि लाममा बसेका महिला, बालबालिका र नगरवासीले गोविन्दको शरीरमा चामल, फूल र अबिर चढाउँदै श्रद्धाञ्जली दिएका थिए । नगरका चोकचोकमा आइतबारका लागि तय गरिएका होलीमिलन कार्यक्रम स्थगित गर्दै नगरवासी गौतमको शवयात्रामा मिसिएका थिए । ‘हामीले होलीमिलन कार्यक्रम स्थगित गर्यौं’, धनगढी जेसिजका अध्यक्ष टेकराज पनेरूले भने । सर्वसाधारणले आइतबार गोविन्दलाई श्रद्धाञ्जली दिनका लागि होली नखेल्ने र रङ नलगाउने भन्दै शवयात्रामा सहभागी हुन आह्वान गरेका थिए । धनगढी, चौराहा, त्रिनगर भन्सार, डोकेबजार हुँदै शवयात्रा दोदाकिनार पुगेको थियो । शवयात्रामा सहभागीले ‘भारतीय विस्तारवाद मुर्दावाद’, ‘भारतीय हस्तक्षेप बन्द गर’, ‘वीर गोविन्द जिन्दावाद’, ‘बरु गोली खाइन्छ, सिंगो नेपाल चाहिन्छ’ जस्ता नारा लगाएका थिए ।
यसअघि आइतबार बिहान ८ बजे नै शवयात्रा सुरु गर्ने भनिए पनि प्रशासनको तयारी अभावका कारण दिउँसो पौने एक बजे मात्रै धनगढीस्थित सेती अञ्चल अस्पतालबाट शवयात्रा सुरु भएको थियो । देशको सीमा सुरक्षार्थ ज्यानको आहुति दिएका गौतमको शवयात्रा सुरु हुँदा आफन्तको रुवाबासी चलेपछि सहभागी धेरैका आँखा रसाएका थिए ।












प्रतिक्रिया