काठमाडौं, ८ असोज । नेपाली सेनाले ‘मानवअधिकार हननु आरोप लागेका महासेनानी (कर्णेल) सागरबहादुर केसीलाई सैनिक सहचरी बनाउन बेलायतबाट आएको ‘एग्रिमोु रद्द गर्दै अर्को नाम सिफारिस गरेको छ।
बेलायतको लन्डनस्थित नेपाली दूतावासमा सैनिक सहचरीका रूपमा पठाउन सेनाले सागरको सट्टा अर्का महासेनानी प्रदीपजंग केसीको नाम सिफारिस गरेको हो।
करिब दुई वर्षअघि लन्डन प्रहरीले सुडानस्थित संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिई बिदामा बेलायत पुगेका सेनाका महासेनानी कुमार लामालाई पक्राउ गरी ‘गम्भीर मानवअधिकार हननु को मुद्दा चलाएको थियो। सागरलाई पनि यसैगरी पक्राउ गरी मुद्दा चलाइने आँकलन गर्दै सेनाले अन्तिममा एग्रिमो आइसकेपछि पनि उनलाई सहचरी नबनाउने निर्णय लिएको हो।
‘२०६२/६३ को जनआन्दोलनपछि गठित रायमाझी आयोगले बोलाएर महासेनानी सागरलाई बयान लिएकाले उहाँको ठाउँमा अर्को नाम पठाएका हौं,’ नेपाली सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलले मंगलबार भने, ‘पछि गम्भीर घटना हुन नदिन अहिले नै रोकिएको हो।’
जनआन्दोलन दमन छानबिन गर्न सरकारले कृष्णजंग रायमाझीको संयोजकत्वमा आयोग गठन गरेको थियो। २०६२र६३ को जनआन्दोलन दबाउन तत्कालीन राजा ज्ञानेन्द्रले सेना खटाएका थिए। आन्दोलन दबाउने नाममा आन्दोलनकारीको मानवअधिकार हनन गरेको भन्दै रायमाझी आयोगले सागरसँग बयान लिएको थियो।
आयोगको प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक नगरिए पनि उनको नाम कारबाहीका लागि सिफारिस भएकाले अन्तिम घडीमा बेलायतका लागि नेपाली सैनिक सहचरीबाट हटाइएको परराष्ट्र स्रोतले जनायो।
बेलायतस्थित नेपाली दूतावासमा हाल सैनिक सहचरीका रूपमा विश्वनाथ घिमिरे छन्। महासेनानीलाई सैनिक सहचरीमा पठाउने प्रावधान छ।
महासेनानीबाट सहायक रथीमा बढुवा भइसकेका घिमिरेको कार्यकाल करिब दुई महिनाअघि नै सकिएको समाचार आजको नागरिक दैनिकले छापेको छ । उनी
अहिलेसम्म फर्केका छैनन्। घिमिरेको कार्यकाल सकिनुअघि नै सेनाले सागरलाई बेलायतका लागि सैनिक सहचरीमा सिफारिस गरेको थियो जसलाई मन्त्रिपरिषदले पनि अनुमोदन गरिसकेको थियो।















प्रतिक्रिया