काठमाडौं, २८ फागुन । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले कञ्चनपुरको सीमामा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट निधन भएका नेपाली नागरिक गोविन्द गौतमलाई सहिद घोषणा गरेको जानकारी दिएका छन् ।
व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा कञ्चनपुर र सप्तरी घटनाका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री निधिले सहिद घोषणाका साथै रु दस लाख राहतस्वरुप उपलब्ध गराउने, गौतमको अन्त्येष्टि सम्मानपूर्वक गरिने र सन्ततिको निःशुल्क पठनपाठन गराइदिने निर्णय भएको पनि जानकारी दिए । राजधानी दैनिकले समाचार छापेको छ ।
कञ्चनपुर जिल्लाको दक्षिणी सिमाना नजिक आनन्द बजारमा कल्भर्ट निर्माण सम्बन्धमा नेपाल र भारतका सीमा अधिकारीबीच यही फागुन १० गतेको सहमति विपरीत भारतीय पक्षले कल्भर्ट भत्काएपछि उत्पन्न विवादमा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट निर्दोष गोविन्द गौतमको उपचारका क्रममा दुःखद् निधन भएको मन्त्री निधिले अवगत गराए ।
उनले उक्त अकल्पनीय घटनाबारे गृह र परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी धारणा स्पष्ट पारिसकेको जानकारी दिँदै भारतीय पक्षबाट गोली प्रहार हुनु निन्दनीय भएको बताए ।
सोही विषयमा आफूले प्रधानमन्त्रीको निर्देशनमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग टेलिफोन गरी घटनाको छानबिन गर्न र दोषीमाथि कारबाही गर्न आग्रह गरेको उनले जानकारी दिए ।
यस्तै, परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले पनि स्वराजलाई फोन गरी आइन्दा यस्तो घटना नदोहोराउन आग्रह गरेको र भारतीय दूतावासका कार्यबाहक राजदूतलाई परराष्ट्र मन्त्रालयले बोलाइ ध्यानाकर्षण गराएको पनि बताए ।












प्रतिक्रिया