काठमाडौं, २५ फागुन । सरकारले सप्तरी घटनामा मृत्यु भएकाका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ ।
बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले आइतबार भएको झडपमा प्रहरीको गोली लागेर मृत्यु भएकाहरुको परिवारलाई जनही १०–१० लाख रुपैयाँ दिने निर्णय गरेको स्थानीय विकासमन्त्री हितराज पाण्डले जानकारी दिए । उनका अनुसार सम्पूर्ण घाइतेहरुको उपचार खर्च सरकारले बेहोर्ने छ ।
बैठकले घटनाबारे अध्ययन गर्न गृह मन्त्रालयले तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गर्दै १५ दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ । सम्बन्धित व्यक्तिसँगको सल्लाहमा गृह मन्त्रालयले नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धानका उच्च अधिकारी सम्मिलित आयोग बनाउनेछ ।
मेची महाकाली अभियानअन्तर्गत एमालेको कार्यक्रम बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा राजविराजमा चार जनाको मृत्यु भएको छ ।
बैठकले शान्तिपूर्ण रुपमा भेला हुने, राजनीतिक गतिविधि गर्ने संवैधानिक अधिकारलाई कुण्ठित नगर्न र संयमतापूर्वक राजनीतिक गतिविधि गर्न सम्पूर्ण राजनीतिक दलहरुलाई अपील समेत गरेको छ ।












प्रतिक्रिया