२९ आश्विन २०८३, बिहिबार

नेपाल पत्रकार महासंघ यूएईको अधिवेशन अक्टुवरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

FNJत्रिलोचन कोइराला
दुबई । नेपाल पत्रकार महासंघ यूएई शाखाको चौथो अधिवेशन आगामी अक्टुवर १७ तारिकका दिन विविध कार्यक्रमकासाथ दुबईमा हुने भएको छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ठ र उपाध्यक्ष खिलबहादुर भण्डारीको उपस्थितीमा हुन लागेको शाखाको चौथो अधिवेशनले नयाँ कार्यसमितिको छनोट गर्ने छ ।

अक्टुवर १६ र १७ गरी दुइदिनसम्म नेपालबाट आउने कन्द्रीय अध्यक्ष तथा उपाध्यक्षबाट पत्रकारिता कार्यशाला (तालिम), अन्तरक्रिया र भेटघाट कार्यक्रम हुने शाखाका अध्यक्ष अर्जुन दाहालले जानकारी दिनुभयो ।

अक्टुवर १६ तारेख बिहीबार साँझ पत्रकारिता कार्यशाला (तालिम) र अक्टोबर १७ शुक्रबारका दिन अधिवेशन साथै समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम र निर्वाचित कार्यसमिति घोषणा कार्यक्रम रहेको शाखाले जनाएको छ ।

गत शुक्रबार बसेको शाखाको अधिवेशन तयारी समितिको बैठकले अधिवेशन सम्पन्न गर्न बिभिन्न उपसमिति बनाउँदै जिम्मेवारी बाँडफाँड गरेको छ । पत्रकारिता कार्यशाला (तालिम) का लागि त्रिलोचन कोइरालाको संयोजनमा लक्ष्मण खनाल र गितामणि पाण्डे रहेको पत्रकारिता कार्यशाला व्यवस्थापन समिति, अर्जुन दाहालको संयोजनमा भुपराज बस्याल र एकेन्द्र थापा रहेको आर्थिक व्यवस्थापन र निमेष गिरीको संयोजनमा त्रिलोचन कोइराला र लक्ष्मण खनाल रहेको अतिथि सत्कार एवं अन्तरक्रिया व्यवस्थापन समिति रहेको छ ।

शुक्रबार बसेको बैठकले अधिवेशन आचार–संहिता बनाउँदै सर्वसम्मत पास गरेको छ । आचारसंहिता अनुसार शाखाको कार्यसमितिको मुख्य पदहरू अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष पदमा उम्मेदवारी दिने शाखाका सदस्यहरू यूएईमा रहेका कुनै पनि संघ–संस्थाको कार्यसमितिको कुनै पदमा नरहेको हुनु पर्ने छ ।
अध्यक्षका लागि नेपाल पत्रकार महासंघको तीन वर्षदेखि सदस्यता लिएको र महासंघको कार्यसमितिमा रहेर दुइवर्षको कार्यानुभव भएको हुनु पर्ने छ । त्यस्तै कार्यसमिकिा सदस्यका लागि भने यूएईका कुनै पनि संघसंस्थाको मुख्य पदहरू (अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सहसचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष) मा नरहेको हुनु पर्ने शाखाका अध्यक्ष अर्जुन दाहालले जानकारी दिनुभयो ।