१ कार्तिक २०८३, आइतबार

गृहमन्त्री निधिलाई बर्खास्त गर्ने प्रधानमन्त्रीको तयारी! बालुवाटारमा गम्भीर छलफल

167.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको शंकास्पद गतिविधिले झस्किएका छन् ।

सोमबार साँझ सप्तरीमा गोली नै चलाउनुपर्ने स्थिति उत्पन्न नहुँदै मन्त्री निधिले गोली हान्न ‘ठाडो आदेश’ दिएपछि प्रधानमन्त्री प्रचण्ड उनलाई सशंकित भएका हुन् । प्रधानमन्त्री प्रचण्डले मधेसका आन्दोलनकारीमाथि गोली नचलाउन गृहमन्त्रीलाई निर्देशन दिएको खुलासा भएको छ ।

सप्तरीमा भएको झडपमा सुरक्षाकर्मीको गोलीबाट तीन जनाको मृत्यु भएपछि न्यायिक छानविनको माग गर्दै मंगलबार विहान बालुवाटार पुगेका प्रदेश नम्बर २ का कांग्रेस सांसदहरुसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सप्तरी घटना दुःखद भएको र गोली नचलाउन आफूले आदेश दिएको भएपनि उल्लंघन भएको भन्दै कारबाही गर्ने बताएका हुन् ।

भेटमा सहभागी कांग्रेसका एक सांसदका अनुसार प्रधानमन्त्रीले आफूले सोमबार विहान प्रहरी प्रमुखलाई बोलाएर कुनै हालतमा गोली नचलाउन आदेश दिएको तर, साँझ त्यसविपरित घटना भएकोमा दुःख व्यक्त गर्दै भनेका थिए- ‘मेरो आदेश नमान्ने को हो ? म निलम्बन गरेर कारबाही गर्छु ।’

माओवादी बैठकमा पनि बर्खास्त गर्ने कुरा उठ्यो

यसैबीच सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रीय कार्यालय बैठकमा पनि गृहमन्त्री निधिको ‘शंकास्पद कदम’ बारे गम्भीर छलफल भएको थियो । बैठकमा सहभागी एक नेताका अनुसार बैठकमा गृहमन्त्री निधिलाई बर्खास्त गर्नुपर्ने माग उठेको थियो ।

घटना लगत्तै प्रधानमन्त्री प्रचण्डले ‘मैले रोक्दारोक्दै गोली हान्ने आदेश किन दिनुभो ?’ भनी सोधेका थिए । तर, गोली चलाउनुपर्ने स्थिति उत्पन्न नहुँदै मन्त्री निधिले गोली हान्न ‘ठाडो आदेश’ दिएको रहस्य खुलेपछि प्रधानमन्त्री स्तब्ध भएका थिए ।

तर, पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले कैलालीमा रहेका गृहमन्त्री निधि काठमाडौं आएपछि एकपटक प्रत्यक्ष भेटेर कुराकानी गर्ने अनि मात्रै थप निर्णयमा पुग्ने कुरा बैठकमा राखेका थिए ।

बैठकमा माओवादी नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री निर्देशन उल्ट्याउँदै सप्तरीमा गोली हान्न निर्देशन दिने गृहमन्त्री निधिको कडा आलोचना गरेका थिए ।