काठमाडौं, २४ फागुन । एमालेको मेची महाकाली राष्ट्रिय अभियानका कार्यक्रममा सप्तरीमा भएको घटना तथा त्यसपछि उत्पन्न मुलुकको पछिल्लो अवस्थाका विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दैछ ।
बेलुका छ बजे सिंहदरबारमा बस्ने बैठकमा सप्तरी घटनाका विषयमा छलफल हुने स्रोतले जनाएको छ । सप्तरीमा मधेसी मोर्चाका कार्यकर्ताहरूको ज्यानजाने गरी घटना भएपछि प्रधानमन्त्री र गृहमन्त्रीले चिन्ता जनाइ सकेका छन् ।
मन्त्रिपरिषद बैठकमा एमालेको मेची महाकाली राष्ट्रिय अभियानका विषयमा पनि छलफल हुने बुझिएको छ ।
सप्तरीको घटना हुनेवित्तिकै गृहमन्त्री विमलेन्द्र निधिले एमालेका अध्यक्ष केपी ओलीसँग फोनमा सम्पर्क गरेका थिए । गृहमन्त्रीसँगको टेलिफोन वार्तापछि बसेको एमालेको स्थायी समितिले तीन दिनका लागि अभियान स्थगित गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद बैठकमा मुलुकको पछिल्लो अवस्था, स्थानीय निर्वाचनको तयारी र अन्य विविध विषयमा छलफल हुनेछ ।











प्रतिक्रिया