काठमाडौं, ७ असोज । संविधानसभालाई पूर्णता दिने क्रममा सरकारले २६ रिक्तमध्ये १७ सभासद् मनोनयन गरिसकेको छ । तिनमा नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपा नेपालका छन् । अझै ९ जनाको कोटा मन्त्रिपरिषद्बाट मनोनयन हुन बाँकी छ । एक जना सभासद्को कोटा पाएको राष्ट्रिय प्रजातन्त्र पार्टीमा भने त्यो कोटाले रडाको मच्चिएको छ ।
उक्त कोटा उम्काउन संस्थापन पक्षका दुई समूह र असन्तुष्ट पक्षको एउटा समूह आफ्नो सम्पूर्ण शक्ति लगाइरहेको छ । पशुपतिशमशेर राणाले ए क्लासका ठेकेदार आङनिमा शेर्पालाई सिफारीस गर्ने तयारी गरे पनि शेर्पाको नाममा संस्थापन पक्षमै सहमति जुट्न सकेको छैन । समाचार स्रोतका अनुसार आफूलाई सभासद् बनाए एक करोड नजराना टक्र्याउने बचन शेर्पाले दिएपछि बुद्धिमान तामाङ र ठाकुर शर्माले राणासमक्ष शेर्पाको नाम प्रस्ताव गरेका थिए ।
आर्थिक चलखेलमै पारेर तामाङ र शर्माले राणालाई शेर्पाको नाममा सहमत गराए पनि अरुले विरोध गरेपछि कसलाई सभासद् बनाउने भन्ने टुंगो लाग्न सकेको छैन । सुरुमा शेर्पाको नाममा सहमति जनाएका अध्यक्ष राणाले अहिले शेर्पालाई सभासद् बनाउन नहुने बताउन थालेका छन् । शेर्पासँग एक करोड लिएर तामाङ र शर्माले ५० लाख रुपैयाँ मात्र आउने भयो भन्दै आधा करोड कुम्ल्याउन खोजेको खुलेपछि राणा पछि हटेका हुन् ।
यता, संस्थापन पक्षमै दुई धार देखापरेपछि लोकेन्द्रबहादुर चन्द पक्षले केही दिनअघि प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर आफ्नो समूहका रणबहादुर बलायरलाई सभासद् बनाउन भन्दै नाम सिफारीस गरेका थिए । चन्दका साथमा डा. प्रकाशचन्द्र लोहनी, परशुराम खापुङ र ध्रुवबहादुर प्रधानले पनि बलायरको नाममा सहमति जनाए । तर प्रधानमन्त्री कोइरालाले राप्रपामा विवाद रहेको भन्दै चन्द पक्षको सिफारिस अनुमोदन गर्न नसकिने संकेत गरे । बालुवाटार स्रोतका अनुसार चन्दले निक्कै जोड गरेपछि कोइरालाले राप्रपाको आधिकारिकता विवाद नटुंगिएसम्म दुवै पक्षको नाम अनुमोदन नगर्ने बचन दिएका छन् ।
















प्रतिक्रिया