काठमाडौं, २५ फागुन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले चार जनाको ज्यानजाने गरी भएको सप्तरी घटनाको विरोधमा दुई दिन मधेस बन्दको आह्वान गरेको छ ।
काठमाडौंको तीनकुनेमा सोमबार राति आकस्मिक रुपमा बसेको मधेसी मोर्चाको बैठकले फागुन २४ र २५ गते दुई दिन मधेस बन्दको आह्वान गरेको हो । बैठकपछि जारी विज्ञप्तिअनुसार दुई दिनको मधेस बन्दलाई सहयोग गर्न अपील गरिएको छ ।
मधेसी मोर्चाले एमालेका शीर्ष नेताहरूको गैरजिम्मेवार अभिव्यक्ति र भड्काउपूर्ण कार्यले सप्तरी घटना भएको आरोप लगाएको छ ।
‘एमालेका केही शीर्ष नेताहरूले मधेस र मधेसी विरुद्ध विषबमन गर्ने व्यवहार, मधेसी समुदायलाई अपमानित गर्ने, होच्याउने र दुरव्यवहार गर्ने खालका गैरजिम्मेवार, भड्काउपूर्ण एवम् उत्तेजक अभिव्यक्ति नै यस घटनाको मुख्य कारक तत्व हुन् भन्ने मोर्चाको ठहर छ’, विज्ञप्तिमा भनिएको छ ।
जारी विज्ञप्तिमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झा र तराई मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री राकेशकुमार मिश्रले हस्ताक्षर गरेका छन् ।
बैठकमा सरकारले सप्तरी घटनामा दमन गरेको भन्दै निन्दा एवम् भत्र्सना गरेको छ । नेताहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा बैठकमा गम्भीर छलफल गरेका थिए ।
सरकारलाई दिएको समर्थन फिर्ताका विषयमा मधेसी मोर्चाले ठोस निर्णय नगरे पनि आगामी बैठकमा पुनः छलफल गरेर सो विषयमा अन्तिम निर्णय गरिने राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए ।












प्रतिक्रिया