रुपन्देही, २३ फागुन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको निरंकुश शैली फेरि एकपटक उजागर भएको छ ।
संघीय फोरमको रुपन्देही जिल्ला अधिवेशनमा अध्यक्ष यादवले ठाडो हस्तक्षेप गरेर आफू निकटका नेताहरूलाई कार्यसमितिमा ल्याएको खुलासा भएको छ ।
रुपन्देही जिल्ला अधिवेशनको आइतबारको बन्दसत्रमा अध्यक्ष यादवले हस्तक्षेप गरेर पुरानै कार्यसमितिलाई निरन्तरता दिएका हुन् । स्रोतका अनुसार पार्टीकी उपाध्यक्ष रेणु यादवसँग अधिवेशनमा पुगेका अध्यक्ष यादवले रेणुकै दबाबमा कार्यकर्ताको भवना विरुद्ध निर्णय गरेका छन् ।

नयाँ कार्यसमितिका लागि अध्यक्षसहितका पदमा नेताहरूले आकंक्षा गरेको रुपन्देहीका युवा नेता अशोक वर्माले जानकारी दिए । ‘म सचिवका लागि उम्मेदवारी दिने तयारी गरेको थिएँ’, वर्माले भने, ‘अध्यक्षज्यूले किन हो ठाडो हस्तक्षेप गरेर पुरानै कार्यसमितिलाई निरन्तरता दिनुभयो । मैले बुझ्न सकेको छैन । हामी नयाँले अब कहिले ठाउँ पाउने ?’
स्रोतका अनुसार अध्यक्ष यादवले रेणु यादवको दबाबमा महेन्द्र यादवसहितको पुरानै टिमलाई निरन्तरता दिएका हुन् ।
संघीय समाजवादी फोरम नेपालको रुपन्देहीको बन्दसत्रमा अध्यक्ष यादवले निरंकुशता लादेपछि अशोक वर्मासहितको समूहले बहिष्कार गरेर नारावाजीसहित बाहिरिएको थियो । नारावाजीका क्रममा उपेन्द्र यादव र रेणु यादवको निरंकुशता विरुद्ध पनि नारावाजी भएको थियो ।
पार्टीमा यादव जातिका नेताहरूलाई मात्रै स्थान दिएको भनेर रुपन्देहीका नेता तथा कार्यकर्ताहरूले फेरि उपेन्द्र यादवलाई आरोप लगाएका छन् ।
रुपन्देही कार्यसमितिमा अध्यक्षसहितका अधिकांश पदाधिकारी र सदस्यमा यादव जातिहरू मात्रै रहेका छन् । उनले कार्यसमितिलाई समावेशी बनाएको देखाउन केही मुस्लिम नेताहरू पनि राखेका छन् ।















प्रतिक्रिया