१ कार्तिक २०८३, आइतबार

अमेरिकाले भन्यो- ‘फरार’ बालकृष्ण ढुंगेललाई पक्राउ गर

87.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । संयुक्त राज्य अमेरिकाले हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजायँ पाइ फरार रहेका नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न आग्रह गरेको छ ।

सर्वोच्च अदालतले नेपालको दशवर्षे द्वन्द्वसँग सम्बन्धित घटनामा गरेका फैसला तथा सरकारी तहबाट कार्यान्वयन नभएको बताउँदै शनिबार अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको विश्वव्यापी वार्षिक मानवअधिकार अवस्थासम्बन्धी प्रतिवेदनको नेपाल खण्डमा प्रहरीको ‘मोस्ट वाण्टेड’ सूचीमा रहेका तर खुलेयाम हिडिरहेका ढुंगेललाई पक्राउ नगरिएको उल्लेख छ ।

ढुंगेललाई पक्राउ गर्न नेपाल सरकारलाई सार्वजनिक रुपमै आह्वान गर्दै अमेरिकी प्रतिवेदनले भनेको छ– ‘द्वन्द्वकालमा मानवअधिकार हननमा संलग्न भनि सर्वोच्च अदालतबाट दोषी ठहर भई जन्मकैद पाएका माओवादी पूर्वसभासद बालकृष्ण ढुंगेल सन् २०१६ मा पनि खुलेआम हिँडिरहेका छन् । तर, उनलाई अझै पक्राउ गरिएको छैन् । यो नाजुक अवस्था हो ।’

अहिले सरकारको नेतृत्व गरिरहेका माओवादी केन्द्रका नेता ढुंगेल ओखलढुंगाबाट निर्वाचित पूर्व सांसद हुन् । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा दोषी ठहर भई सर्वाेच्च अदालतले जन्मकैद सजायँ सुनाएका ढुंगेल हाल फरार छन् ।

सर्वाेच्च फैसलापछि लुकीलुकी हिड्दै आएका ढुंगेल प्रचण्ड प्रधानमन्त्री बनेपछि खुलेयाम हिड्न थालेका छन् । नेपाल प्रहरीले फरार भएकाले पक्राउ गर्न नसकेको बताउँदै आएको छ ।

अमेरिकाले ५० पेज लामो उक्त प्रतिवेदनमा नेपालका अदालतहरू राजनीतिक दबाब, घुसखोरी तथा करकापबाट प्रताडित भइरहेको भन्दै चिन्ता समेत व्यक्त गरेको छ ।