३ कार्तिक २०८३, मंगलबार

घोराहीको खानेपानी योजनाका लागि मन्त्रालयसँग बजेट माग

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन । दाङको घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले घोराहीनगर नगरपालिकाको खानेपानीलाई व्यवस्थित बनाउन सरकारसँग तीन वटा योजनाका लागि रकम माग गरेको छ ।

दाङ क्षेत्र नम्बर तीनका सांसद राजु खनाल तथा घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष देवीबहादुर डिसीसहितको डेलिगेशनले आइतबार सिंहदरबारस्थित खानेपानी राज्यमन्त्री दीपक खड्कासँग भेट गरेर विभिन्न तीन वटा आयोजनाका लागि रकम उपलब्ध गराउन माग गरेको हो । खानेपानीमन्त्री प्रेमबहादुर सिंहसँग भने सोमबार मन्त्रालयमै भेट गर्ने कार्यक्रम छ ।

संस्थाले हाइड्याम निर्माण, तुलसीपुर चोकदेखि रतनपुर चोकसम्म खानेपानी पाइप विस्तार र परीक्षणका लागि एउटा ट्यूबेल निर्माणका लागि खानेपानी मन्त्रालयसँग रकम माग गरेको हो ।

संस्थाका अध्यक्ष डिसीका अनुसार हाइड्याका लागि संस्थाले तयार पारेको रिपोर्टसहितको अनुमानित बजेट राज्यमन्त्री खड्कालाई दिइएको जानकारी दिए ।

‘घोराहीको खानेपानीको स्रोत कटुवा खोलाको मुहानलाई समयमा सुरक्षित गर्न र जलासय निर्माण गरी कटुवा खोलाको मुहानकै वरिपरी हाइड्याम निर्माण कार्यका लागि लागत स्टिमेट आह्वान भएको छ’, उनले भने, ‘सम्भाव्य अध्ययन छिटोछरितो रुपमा अगाडि बढाइदिन खानेपानी मन्त्रालयसँग आग्रह गरिएको छ ।’

घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था सडक डिभिजन कार्यालय दाङले घोराहीको तुलसीपुर चोकदेखि रतनपुर चोकसम्म चार लाइन सडक विस्तार गर्ने कार्यले खानेपानीका पाइप अस्तव्यस्त भइ पानी सञ्चालन अव्यवस्थित र अवरोध भएको भन्दै पाइप लाइन विस्तारका लागि मन्त्रालयसँग रकम माग गरेको छ । संस्थाले सत्तरी लाख दुई हजार तीय सय चालीस पैसा माग गरेको अध्यक्ष डिसीले बताए ।

संस्थाले तेस्रो साना शहरी खानेपानी आयोजना अन्तरगत खानेपानी निर्माण व्यवस्थापन तथा सञ्चालन अन्तरगत नयाँ कार्य निर्माण व्यवसायीबाट भैरहेको भन्दै जिल्लामा आजसम्म जति ट्यूबेल निर्माण भए ती सबै बढीमा १ सय ५० मिटर मात्र गहिराइमा रहेका र त्यसबाट बाढीमा ५ देखि ७ एल.पी.एस पानी आउने एउटा ट्यूबेल कम्तिमा २ सय ५० देखि ३ सय मिटरसम्म गहिराइमा परीक्षणका लागि बजेट माग गरेको छ । सो कार्यका लागि अधिकतम ५० लाखसम्म खर्च हुने अध्यक्ष डिसीले बताए ।

डेलिगेशनमा बमबहादुर डिसी, भुपबहादुर डाँगी, अमर ओली र ध्रुब केसीका रहेका छन् ।