५ मंसिर २०८३, शनिबार

एमालेपछि राप्रपाले पनि राष्ट्रिय एकता यात्रा चलाउने, यी हुन् चार प्रमुख कमाण्डर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी चैत ७ देखि १२ गतेसम्म राष्ट्रिय एकता यात्रा सञ्चालन गर्ने भएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले अहिले मेची महाकाली राष्ट्रिय अभियान चलाइरहेका बेला चौथो शक्ति राप्रपाले पनि एकता यात्रा चलाउन लागेको हो ।

आइतबार विहान बसेको राप्रपा केन्द्रीय कार्य समितिको बैठकले राष्ट्रियता, सनातन धर्म र विकासलाई केन्द्रीत गर्ने, स्थानीय तहको निर्वाचन सन्दर्भमा पार्टीको सन्देश जनता समक्ष पुर्याउने, ऐतिहासिक एकता महाधिबेशनको सन्देश जनता तथा पार्टी कार्यकर्तासम्म पुर्याउने र पार्टीको संगठन निर्माणको प्रक्रियालाई अघि बढाउने उद्देश्यले एकता यात्रा कार्यक्रम संचालन गर्ने निर्णय गरेको प्रवक्ता सुशील कुमार श्रेष्ठले जानकारी दिए ।

यी हुन प्रमुख चार कमाण्डर

केन्द्री कार्यसमिति बैठकले राष्ट्रिय एकता यात्राका लागि पार्टीका चार शीर्ष नेताहरु अध्यक्ष कमल थापा, पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, पूर्व राष्ट्रिय अध्यक्षहरु पशुपति शम्शेर जबरा र डा.प्रकाशचन्द्र लोहनीलाई प्रमुख कमाण्डर तोकेको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार चैत ७ गते एकता यात्राको शुभारम्भ चारै जना प्रमुख कमाण्डरको नेतृत्वमा चार मुख्य ठाउँहरु गोरखा, कञ्चनपुर, झापा र काठमाडौंबाट एकसाथ हुनेछ ।

केन्द्रीय कार्यसमिति बैठकले एकता यात्रालाई प्रभावकारी ढंगबाट संचालन गर्ने पार्टीका उपाध्यक्ष तथा आपूर्ति मन्त्री दीपक बोहराको संयोजकत्वमा एकता यात्रा व्यवस्थापन समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

साथै महामन्त्री जयन्त चन्द महाकाली, सहमहामन्त्री चन्द्र बहादुर गुरुङ्ग सेती, महामन्त्री डा.धवलशम्शेर राणा भेरी, सहायक महामन्त्री मनोज प्रधान राप्ती, सहमहामन्त्री हेमजंग गुरुङ्ग गण्डकी÷धौलागिरी, उपाध्यक्ष बुद्धिमान तामाङ्ग, बागमति, उपाध्यक्ष राजीव पराजुली नारायणी, केन्द्रीय सदस्य गंगा प्रसाद यादव सगरमाथा, उपाध्यक्ष रामचन्द्र राय जनकपुर, महामन्त्री सुनिल बहादुर थापा कोशी र महामन्त्री राजेन्द्र लिङ्गदेन मेची रहेको एकता यात्रा अञ्चल समन्वय समिति गठन गरिएको छ ।

चार वटै टोलीहरु एकीकृत भई राष्ट्रिय एकता यात्राको समापन चैत्र १२ गते चितवनमा भब्य आमसभाका साथ सम्पन्न गरिने राप्रपाले जनाएको छ ।

स्थानीय तह अनुरुप पार्टी इकाईको समायोजन गर्ने

यस्तै राप्रपाले नेपाल सरकारले संविधान बमोजिम विद्यमान स्थानीय निकाय खारेज गरी स्थानीय तहको नयाँ संरचना कार्यान्वयनमा ल्याउने तयारी गरेको र सरकारले आगामी २०७४ बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा समेत गरिसकेको अवस्थामा गत केन्द्रीय कार्य समितिको बैठकले तय गरेको स्थानीय तह अनुरुप पार्टी इकाईको समायोजन निर्देशिका कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

साथै स्थानीय तह निर्वाचन तयारी कार्ययोजना कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । जस अनुसार उमेदवार छनौट, प्रचार अभियान, वर्गिकरण, समिकरण र तालमेल, प्रशिक्षण, घोषणापत्र, उमेदवार सिफारिस लगायतका बिषयलाई कार्यतालिका बनाई कार्यान्वयन गर्ने निर्णय गरेको छ ।