राजविराज, २२ फागुन । नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत सोमबार (भोलि) सप्तरीको राजविराजमा आयोजित जनसभा सारिएको छ ।
राजविराजको राज रंगशालामा सोमबार गर्ने भनिएको जनसभा सारेर औद्योगिक क्षेत्रभित्र गर्ने निर्णय भएको एमाले नेता गोविन्द न्यौपानेले बताए ।
उनका अनुसार राज रंगशालामा मधेसी मोर्चाका कार्यकर्तासँग मुठभेड हुने देखिएपछि सुरक्षाकर्मीको आग्रहमा कार्यक्रमस्थल सार्ने निर्णय भएको हो ।
नयाँ ठाउँमा पनि गर्न नदिने मोर्चाको चेतावनी
यसैबीच मधेसी मोर्चाले औद्योगिक क्षेत्रमा पनि एमालेको सभा हुन नदिने चेतावनी दिएको छ । त्यहाँ कार्यक्रम हुने थाहा पाएपछि मोर्चाका कार्यकर्ताले मधेस आन्दोलनका सहिदहरुको पोष्टर टाँसिरहेका छन् ।
आइतबार (आज) औद्योगिक क्षेत्र आसपास मोर्चाका कार्यकर्ताहरुको बाक्लो उपस्थिति देखिनुका साथै एमालेको विरोधमा छिटफुट प्रदर्शनहरु भइरहेका छन् । त्यहाँ सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति देखिएको छ ।
एमालेले सभा आयोजना गर्न लागेको औद्योगिक क्षेत्रमा तालाबन्दी गरिने मोर्चाका कार्यकर्ताले बताएका छन् ।
एमालेको जनसभालाई लक्षित गरी मोर्चाले सोमबार जिल्लामा चक्काजामको घोषणा गरेको छ ।











प्रतिक्रिया