बागलुङ (खर्वाङ), २२ फागुन । बागलुङमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।
मध्यपहाडी लोकमार्गको बागलुङ वुर्तिवाङ सडक खण्ड अन्तर्गत रिघा गाविसको वडा नं. ७ मनेवापाटामा आइतबार विहान सुख्खा पहिरो खस्दा लोकमार्ग अवरुद्ध हुनुका साथै दरमखोला पूर्णरुपमा थुनिएको छ । सडकभन्दा करिव १ सय मिटर माथिवाट खसेको पहिरोले सडकसंगै खोला पनि थुनेको हो ।
विहान ५ बजेतिर खसेको पहिरोले दरमखोलो थुन्दा ताल बनेको छ । अहिले ठूलो ताल बनेपछि माथिबाट पानी बग्न सुरु गरेको छ । पहिरोले स्थानीय मन कुमारी शाहीको घर जोखिममा परेको छ । पहिरोले रिघा मनेवामा रहेको केन्द्रिय विद्युत प्रशारण पूर्ण अवरुद्ध भएको छ । पहिरोले विद्युतको पोल र तार बगाएपछि विद्युत अवरुद्ध भएको हो ।
त्यस्तै पहिरोका कारण विद्युत सर्ट हुँदा रिघा ७, कल्छे गाइघाटकी ५६ वर्षीय मन कुमारी नेपालीको ज्यान गएकोे छ । नेपाली करेन्ट लागि घाइते भएको र हटियामा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै काठमाडौंबाट छुटेका रात्री बसहरु हटियामा र वुर्तिवाङ लगायतका क्षेत्रबाट छुटेका सवारी साधनहरु खर्वाङमै रोकिएको प्रहरीले जनाएको छ । ४ घण्टा थुनिएको खोलाले बनाएको ताल विस्तारै घट्दै गएको छ । सडक अवरुद्ध हुँदा सयौं यात्रुहरु अलपत्र परेका छन् । विहान खोलो थुनिएपछि गुल्मी वामीका दुई वटा लघु जलविद्युत परियोजना पनि अवरुद्ध भएका थिए ।
खोलामा एक्कासी पानी रोकिएपछि तटिय क्षेत्रका बासिन्दा त्रासमा रहेका छन् । प्रहरीले तटिय क्षेत्रमा सावधानी अपनाउन र जुनसुकै वेला खोलो आउन सक्ने भन्दै सुरक्षित रहन सबैमा आग्रह गरेको छ ।
तस्वीरः अनिश शर्मा गैरे














प्रतिक्रिया